चीनतर्फ पहिरो खस्दा भोटेकोशीको बहाव प्रभावित, तटीय क्षेत्रमा सतर्कता

जनतापत्र, सिन्धुपाल्चोक । चीनको न्यालम क्षेत्रमा ठूलो पहिरो खसेपछि भोटेकोशी नदीको बहाव प्रभावित भएको छ। भोटेकोशी गाउँपालिका–२ लिपिङको पारिपट्टि चीनतर्फ झिम्मु पोस्ट नजिकै बुधबार बिहान ढुङ्गामाटोसहितको पहिरो खसेको हो।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार पहिरोका कारण चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधाजति अवरुद्ध भएको छ। नदीको बहाव यसरी थुनिएपछि जुनसुकै बेला जोखिम निम्तिन सक्ने भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ।

नदीको बहाव प्रभावित भएकाले विशेषगरी भोटेकोशी, बाह्रबीसे र बलेफी गाउँपालिका क्षेत्रका नदी किनारमा बसोबास गर्ने स्थानीय जोखिममा पर्न सक्ने जनाइएको छ।

सशस्त्र प्रहरी बल लामोसाँघुले समेत नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान स्थानीयवासीलाई आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

२८ श्रावण २०८३, बिहीबार ११:१९