स्थानीय न्याय प्रणालीसम्बन्धी ‘न्यायिक समितिको सारथी’ले पायो उत्कृष्ट पुस्तकको सम्मान

कानुन तथा न्याय क्षेत्रमा प्रकाशित कृतिमध्ये अधिकारी र नेपालको पुस्तक उत्कृष्ट ठहर

काठमाडौं — स्थानीय तहमा न्यायिक समितिले गर्ने कामकारबाही र विवाद समाधानका प्रक्रियालाई केन्द्रमा राखेर तयार पारिएको पुस्तक ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट कानुनी कृतिका रूपमा सम्मानित भएको छ।

नेपाल कानुन व्यवसायी परिषद्को ३४औँ स्थापना दिवसका अवसरमा आर्थिक वर्ष २०८२/८३ मा प्रकाशित कानुन तथा न्यायसम्बन्धी पुस्तकहरूमध्ये ‘न्यायिक समितिको सारथी’लाई उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिएको हो।

रिनोवेसन नेपालबाट प्रकाशित पुस्तकका लेखक अधिवक्ता उद्धव प्रसाद अधिकारी र अधिवक्ता रामबाबु नेपाल हुन्। स्थापना तथा आत्ममूल्याङ्कन दिवसका अवसरमा आयोजित समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले लेखकद्वयलाई सम्मानपत्र र नगद पुरस्कार प्रदान गरेका थिए।

स्थानीय सरकारअन्तर्गत रहेका न्यायिक समितिले विवाद निरुपण गर्दा अपनाउनुपर्ने कानुनी तथा प्रक्रियागत पक्षलाई पुस्तकले प्राथमिकतामा राखेको छ। संविधान र स्थानीय सरकार सञ्चालन ऐनसहित प्रचलित कानुनी प्रावधानलाई आधार बनाएर न्यायिक समितिको अधिकार, जिम्मेवारी र कार्यविधिबारे सामग्री प्रस्तुत गरिएको छ।

विशेषगरी उजुरी प्राप्त गर्ने प्रक्रिया, विवादको सुनुवाइ, पक्षहरूबीच मेलमिलाप गराउने तरिका, निर्णय तयार गर्ने विधि तथा त्यसको कार्यान्वयन र अभिलेख राख्ने विषय पुस्तकमा समेटिएका छन्।

स्थानीय तहमा न्यायिक अधिकार प्रयोग गर्ने क्रममा देखिने व्यवहारिक अन्योल र प्रक्रियागत समस्यालाई सम्बोधन गर्न पुस्तक उपयोगी हुने अपेक्षा गरिएको छ। न्यायिक समितिका पदाधिकारी र कर्मचारीसँगै मेलमिलापकर्ता, कानुन व्यवसायी, जनप्रतिनिधि, विद्यार्थी तथा कानुनी क्षेत्रमा काम गर्ने व्यक्तिलाई लक्षित गरी पुस्तक तयार पारिएको हो।

लेखकद्वयका अनुसार संघीय संरचनामा स्थानीय तहलाई प्राप्त न्यायिक अधिकारलाई प्रभावकारी रूपमा प्रयोग गर्न आवश्यक ज्ञान र अभ्यासलाई एकै ठाउँमा उपलब्ध गराउने प्रयासस्वरूप पुस्तक तयार गरिएको हो। स्थानीय स्तरमा विवाद समाधान र मेलमिलापको अभ्यासलाई थप व्यवस्थित बनाउन पनि यसले सहयोग पुर्‍याउने उनीहरूको विश्वास छ।

सम्मानपछि अधिकारी र नेपालले पुरस्कारलाई आफूहरूको व्यक्तिगत उपलब्धिभन्दा स्थानीय न्यायिक संयन्त्रको विकासका लागि गरिएको अध्ययन र लेखनको कदरका रूपमा लिएको बताएका छन्।

नेपाल कानुन व्यवसायी परिषद्ले कानुनी क्षेत्रमा अध्ययन, अनुसन्धान तथा प्रकाशनमार्फत योगदान गर्ने उत्कृष्ट कृतिलाई प्रोत्साहन गर्ने क्रममा हरेक वर्ष पुस्तक सम्मान गर्दै आएको छ। यस वर्ष ‘न्यायिक समितिको सारथी’लाई सोही प्रक्रियाअन्तर्गत उत्कृष्ट कृतिका रूपमा छनोट गरिएको हो।

समारोहमा न्यायाधीश, वरिष्ठ अधिवक्ता, कानुन व्यवसायी, कानुन क्षेत्रका विज्ञ तथा परिषद्का पदाधिकारीलगायतको उपस्थिति रहेको थियो। स्थानीय तहमा न्यायिक समितिको अभ्यास विस्तार हुँदै जाँदा त्यससँग सम्बन्धित कानुनी र व्यवहारिक विषयमा सन्दर्भ सामग्रीको आवश्यकता बढिरहेका बेला पुस्तकले प्राप्त गरेको सम्मानलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

२८ श्रावण २०८३, बिहीबार १४:०१