पत्रकारको क्यामेराबाट प्रधानमन्त्रीको भिडियो सेनाले हटायो

पोखरा — पोखरामा रहेका प्रधानमन्त्री वालेन्द्र शाहको भिडियो खिचेको भन्दै सुरक्षामा खटिएको नेपाली सेनाले पत्रकार सुरेश सुनारको क्यामेराबाट भिडियो हटाएको आरोप लागेको छ।

आइतबार मुस्ताङबाट फर्किएपछि प्रधानमन्त्री शाह पोखरा–१४ स्थित मझेरी मन्जिल रिसोर्टमा बसेका थिए। त्यही क्रममा मेरो साथी टीभी डटकमका पत्रकार सुनारले विजयपुर खोलानजिकै रिसोर्टको पारिपट्टिबाट प्रधानमन्त्रीको भिडियो खिचेका थिए।

सुनारका अनुसार आफूले भिडियो खिचिरहेको देखेपछि सेनाको टोली गाडीमा आएर क्यामेरामा रहेका भिडियो हेर्दै एक–एक गरेर हटाउन लगाएको थियो। यसअघि रिसोर्टको गेटबाट भिडियो खिच्न रोक लगाइएपछि आफू पारिपट्टि गएर भिडियो खिचेको उनले बताए।

उनका अनुसार सेनाले प्रधानमन्त्रीको भ्रमण ‘निजी भ्रमण’ भएको भन्दै भिडियो हटाउन लगाएको थियो।

घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीले आपत्ति जनाएको छ। महासंघका अध्यक्ष माधव बरालले सार्वजनिक पदमा रहेका प्रधानमन्त्रीको गतिविधिबारे समाचार प्रयोजनका लागि भिडियो खिच्दा सेनाले सामग्री हटाउनु प्रेस स्वतन्त्रताविरोधी कदम भएको बताए।

यता जिल्ला प्रशासन कार्यालय कास्कीले घटनाबारे पूर्ण जानकारी प्राप्त नभएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले सार्वजनिक स्थलमा सार्वजनिक व्यक्तिको भिडियो खिच्न प्रशासनले पत्रकारलाई रोक नलगाएको स्पष्ट पारे।

प्रधानमन्त्री शाह शुक्रबार परिवार र सचिवालयका सदस्यसहित सेनाको सुरक्षामा पोखरा पुगेका थिए। त्यसपछि उनी मुस्ताङ गएका थिए। मुस्ताङबाट बागलुङ र पर्वत हुँदै आइतबार पोखरा फर्किएका शाह मझेरी मन्जिल रिसोर्टमा बसेका हुन्।

८ भाद्र २०८३, सोमबार १०:०९