मनसुन सक्रिय नै, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ — नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेकाले आगामी केही दिन देशका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। त्यसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भएको छ भने विभिन्न प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कहाँ-कहाँ वर्षा हुन्छ?

आज दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

पहाडी भूभागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

त्यस्तै, मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

राति पनि वर्षाको सम्भावना

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागको अनुमान छ।

यस्तै, कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा केही स्थान तथा मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा राति पनि भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।

बाढी र पहिरोको जोखिम

भारी वर्षा हुनसक्ने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना हेरेर मात्र यात्रा तथा अन्य गतिविधि सञ्चालन गर्न विभागले अनुरोध गरेको छ।

८ भाद्र २०८३, सोमबार १०:२४