सुनिता रखाल,सिन्धुपाल्चोक ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले सरकारको विभेदकारी विज्ञापन नीतिको विरोधमा आन्दोलनलाई निरन्तरता दिएको छ। सोही क्रममा महासंघले २०८३ जेठ २९ गते जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा धर्ना कार्यक्रम आयोजना गरेको हो।
धर्ना कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, पत्रकार तथा महासंघका पदाधिकारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सरकारले लागू गरेको विज्ञापन नीति प्रेस स्वतन्त्रता, समान अवसर तथा सञ्चारमाध्यमहरूको अस्तित्वमाथि नै चुनौती बनेको भन्दै तत्काल सच्याउन माग गरेका छन्।
महासंघका प्रतिनिधिहरूले विज्ञापन वितरणमा देखिएको विभेदले विशेषगरी मोफसलका सञ्चारमाध्यमहरू बढी प्रभावित भएको बताएका छन्। उनीहरूले राज्यका निकायबाट हुने विज्ञापन वितरण पारदर्शी, समानुपातिक र न्यायोचित हुनुपर्नेमा जोड दिएका छन्।
धर्नाका क्रममा पत्रकारहरूले विभिन्न नारासहित सरकारको ध्यानाकर्षण गराएका थिए। महासंघले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउँदै लैजाने चेतावनी समेत दिएको छ।
नेपाल पत्रकार महासंघले देशभर सञ्चालन भइरहेको आन्दोलनअन्तर्गत जिल्लास्तरमा पनि विरोधका कार्यक्रम जारी राखेको जनाएको छ। पत्रकारहरूको पेशागत हकहित, प्रेस स्वतन्त्रता तथा सञ्चारमाध्यमहरूको संरक्षणका लागि आन्दोलन आवश्यक भएको महासंघको भनाइ छ।
धर्ना कार्यक्रममार्फत महासंघले सरकारलाई विभेदकारी विज्ञापन नीति खारेज गरी सबै सञ्चारमाध्यमप्रति समान व्यवहार गर्न आग्रह गरेको छ।
२९ जेष्ठ २०८३, शुक्रबार २१:४२