जनतापत्र,सिन्धुपाल्चोक ।
“सुन्दर सुनकोशी, समृद्ध सुनकोशी, सुखी सुनकोशी” भन्ने मूल नाराका साथ सुनकोशी गाउँपालिकाको आयोजनामा सामी (SaMi) कार्यक्रमको चौथो चरण कार्यान्वयन मोडालिटी तथा वैदेशिक रोजगारी सम्बन्धी सेवा समन्वय विषयक अभिमुखीकरण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सामी कार्यक्रमको चौथो चरणअन्तर्गत स्थानीय तहको भूमिका, वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित र उपलब्धिमूलक बनाउने उपाय तथा सेवा प्रवाहमा विभिन्न शाखा र विषयगत समितिहरूबीच आवश्यक समन्वयका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
अन्तरक्रियाका क्रममा वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई सही सूचना, परामर्श, सीप विकास, कानुनी सहायता तथा पुनःएकीकरण सेवाहरू प्रभावकारी रूपमा उपलब्ध गराउन स्थानीय तहले खेल्नुपर्ने भूमिकाबारे छलफल भएको थियो। सहभागीहरूले वैदेशिक रोजगारीका क्रममा देखिने चुनौतीहरू न्यूनीकरण गर्न समन्वित प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
प्रमुख अतिथि अध्यक्ष तिमल्सिनाले सुरक्षित वैदेशिक रोजगारी प्रवद्र्धन, श्रमिकको हकहित संरक्षण तथा वैदेशिक रोजगारीबाट प्राप्त सीप, अनुभव र पूँजीलाई स्थानीय विकाससँग जोड्न सामी कार्यक्रम महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रमले वैदेशिक रोजगारी सम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी, पहुँचयोग्य र समन्वयात्मक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।
२९ जेष्ठ २०८३, शुक्रबार २१:५१