राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

जनतापत्र,सिन्धुपाल्चोक ।
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, सिन्धुपाल्चोकको दोस्रो जिल्ला अधिवेशन सुनकोशी गाउँपालिका–७ स्थित बसन्तेश्वर महादेव परिसर, लामोसाँघुमा भव्य रूपमा सम्पन्न भएको छ।

अधिवेशनमा प्रमुख अतिथिका रूपमा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना तथा विशेष अतिथिका रूपमा बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङ, सुनकोशी गाउँपालिकाका प्रवक्ता ईश्वर तिमल्सिनालगायतको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले लोक भजन चुड्का कला, संस्कृति तथा परम्परा नेपाली समाजको मौलिक पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण, संवद्र्धन र पुस्तान्तरणमा सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए।

अधिवेशनले लोक भजन चुड्का कला तथा संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तामा यसको महत्व र मूल्यबोध गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, परम्परागत कला र संस्कृतिलाई जीवित राख्न स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

प्रतिष्ठानका पदाधिकारीहरूले लोक भजन चुड्का नेपालको सांस्कृतिक सम्पदाको महत्वपूर्ण हिस्सा भएकाले यसको संरक्षण र प्रवद्र्धनका लागि संस्थागत रूपमा निरन्तर पहल गरिने बताएका छन्।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थाको भावी कार्ययोजना समेत तय गरेको जनाएको छ। सहभागीहरूले यस्ता कार्यक्रमले कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन्।

२९ जेष्ठ २०८३, शुक्रबार २१:३४