निर्माणाधीन विद्यालय भवनको बलेफी गाउँपालिकाद्वारा स्थलगत अनुगमन

जनतापत्र,सिन्धुपाल्चोक ।
बलेफी गाउँपालिकाले शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बाल शिक्षा माध्यमिक विद्यालय, खाडीचौरमा निर्माणाधीन पक्की दुई कोठे भवनको स्थलगत अनुगमन गरेको छ।


गाउँपालिकाको शिक्षा तथा प्राविधिक शाखाको टोलीले निर्माण कार्यको प्रगति, गुणस्तर तथा निर्धारित मापदण्डको पालनाबारे निरीक्षण गरेको हो। अनुगमनका क्रममा भवन निर्माणको अवस्था, प्रयोग भएका सामग्री तथा कार्य सम्पन्नताको अवस्थाबारे जानकारी लिइएको थियो।
गाउँपालिकाले विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त भवन निर्माण कार्य अघि बढाएको जनाएको छ।
अनुगमन टोलीले निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न तथा गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण पक्षलाई निर्देशन दिएको थियो। साथै विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय सरोकारवालासँग भवन निर्माणपछि शैक्षिक गतिविधिमा पुग्ने सकारात्मक प्रभावबारे समेत छलफल गरिएको थियो।
बलेफी गाउँपालिकाले शिक्षा क्षेत्रको समग्र विकासका लागि विद्यालय पूर्वाधार निर्माण, शैक्षिक सामग्री व्यवस्थापन तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। निर्माणाधीन दुई कोठे भवन सम्पन्न भएपछि विद्यालयको पठनपाठन व्यवस्थापन थप सहज हुने र विद्यार्थीले लाभान्वित हुने अपेक्षा गरिएको छ।

२९ जेष्ठ २०८३, शुक्रबार १२:४७