जुगल गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाई सम्पन्न


जनतापत्र,सिन्धुपाल्चोक ।
जुगल गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिका अध्यक्ष रेशम स्याङ्वोको अध्यक्षतामा सम्पन्न भएको छ। स्थानीय तहको सेवा प्रवाहलाई थप पारदर्शी, जवाफदेही तथा नागरिकमैत्री बनाउने उद्देश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, शैक्षिक क्षेत्र तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सार्वजनिक सुनुवाई स्थानीय तहहरूमा नियमित रूपमा सञ्चालन गरिने सुशासन तथा सार्वजनिक उत्तरदायित्व प्रवद्र्धन गर्ने कार्यक्रमअन्तर्गत पर्दछ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिमाल कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, इलाका प्रहरी कार्यालय जलविरेका प्रमुख, नागरिक समाजका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू, गाउँपालिकाका कर्मचारी लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
सार्वजनिक सुनुवाईका क्रममा गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा सम्पन्न भएका विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक विकाससँग सम्बन्धित कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरेको थियो। साथै नागरिकहरूले सेवा प्रवाह, विकास निर्माणको गुणस्तर, योजनाको कार्यान्वयन तथा स्थानीय आवश्यकता सम्बन्धी जिज्ञासा, सुझाव र गुनासाहरू राखेका थिए।


कार्यक्रममा उठेका प्रश्नहरूको अध्यक्ष स्याङ्वो, उपाध्यक्ष श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित शाखा प्रमुखहरूले जवाफ दिँदै आगामी दिनमा नागरिकका सुझावलाई नीति तथा कार्यक्रम निर्माणमा समेट्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
गाउँपालिकाले सार्वजनिक सुनुवाईलाई नागरिक र स्थानीय सरकारबीचको प्रत्यक्ष संवादको प्रभावकारी माध्यमका रूपमा लिँदै पारदर्शिता, सुशासन र जनउत्तरदायित्वलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

२९ जेष्ठ २०८३, शुक्रबार २२:०४