जनतापत्र,सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ को आयोजनामा नेपालमै नौलो अवधारणाका रूपमा रहेको ‘उत्कृष्ट बुहारी÷छोरी सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। वडा नं. १४ स्थित डडुवामा आयोजित उक्त कार्यक्रमले समाजमा छोरी तथा बुहारीहरूको योगदानको कदर गर्दै सम्मानको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रममा परिवार, समाज तथा समुदायको विकासमा उल्लेखनीय योगदान पु¥याएका छोरी तथा बुहारीहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूले आफ्नो जिम्मेवारी, मेहनत, त्याग र सकारात्मक भूमिकामार्फत समाजमा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय अगुवा तथा वडावासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले छोरी र बुहारीलाई परिवार तथा समाजको महत्वपूर्ण शक्तिका रूपमा स्थापित गर्दै उनीहरूको सम्मान र हौसला बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।

वडा नं. १४ ले सञ्चालन गरेको यो कार्यक्रम महिला सम्मान, लैङ्गिक समानता तथा सामाजिक सद्भाव प्रवद्र्धनका दृष्टिले उदाहरणीय र नवीन प्रयासका रूपमा हेरिएको छ। सहभागीहरूले पनि यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै महिलाप्रति सम्मानको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

आयोजकका अनुसार आगामी वर्षहरूमा समेत कार्यक्रमलाई निरन्तरता दिँदै अझ प्रभावकारी ढंगले सञ्चालन गरिनेछ। स्थानीय स्तरमा पहिलोपटक आयोजित यस प्रकारको सम्मान कार्यक्रमले समुदायमा सकारात्मक चर्चा र उत्साह सिर्जना गरेको छ।
४ असार २०८३, बिहीबार ११:२२