
जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–२ बतासेमा नेत्र ज्योति कृषि सहकारी संस्था लिमिटेडद्वारा आयोजित गोलभेडा, काउली लगायत विभिन्न तरकारी उत्पादन तथा अचार बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त सशर्त अनुदान तथा चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको उक्त तालिम २०८२ चैत्र २२ गतेदेखि सुरु भई २०८३ वैशाख १० गते समापन गरिएको हो। समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहनु भएका वडा नं. २ का वडा अध्यक्ष सुदिप श्रेष्टले सहभागीहरूलाई तालिमबाट सिकेका सीप तथा ज्ञानलाई व्यवहारमा उतार्दै आफ्नै जीविकोपार्जनमा टेवा पु¥याउन आग्रह गर्नुभयो।

विशेष अतिथि नेपाल बार एसोसिएसनका अध्यक्ष भूपेन्द्र थिङले तालिमको प्रशंसा गर्दै यसले कृषकहरूको उत्पादन क्षमता वृद्धि र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका अध्यक्षले यस्ता सीपमूलक तालिमहरूले किसानहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। तालिम अवधिभर स्थानीय कृषक तथा विशेषगरी महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूलाई आधुनिक तरकारी खेती प्रविधि, उत्पादन वृद्धि, संरक्षण विधि तथा विभिन्न प्रकारका अचार बनाउने व्यावहारिक सीप प्रदान गरिएको सहकारीले जनाएको छ।
उक्त कार्यक्रममा प्रशिक्षक, जनप्रतिनिधि, सञ्चारकर्मी तथा गाउँका स्थानीय बासिन्दाहरूको बाक्लो र उत्साहजनक उपस्थिति रहेको थियो, कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो।
११ बैशाख २०८३, शुक्रबार १६:२७