नमुना युवा नगर सभा अभ्यास सफलतापूर्वक सम्पन्न


सुनिता रखाल चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा सञ्चालित तीनदिने ‘नमुना युवा नगर सभा अभ्यास’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।


नगरभित्रका विभिन्न विद्यालय तथा क्याम्पसका ४८ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा स्थानीय सरकारको संरचना, नीति निर्माण प्रक्रिया तथा निर्णय प्रणालीबारे व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। कार्यक्रममार्फत युवाहरूलाई स्थानीय तहको कार्यप्रणाली र लोकतान्त्रिक अभ्यासबारे प्रत्यक्ष अनुभव दिलाउने उद्देश्य राखिएको थियो।
कार्यक्रमको समापन अवसरमा सहभागी विद्यार्थीहरूले वास्तविक नगर सभाको झल्को दिने गरी नमुना नगर सभा सञ्चालन गरेका थिए। उनीहरूले विभिन्न विषयमा छलफल गर्दै प्रस्ताव प्रस्तुत तथा निर्णय प्रक्रिया अभ्यास गरेका थिए।
समापन कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले यस्ता अभ्यासमूलक कार्यक्रमले युवाहरूको नेतृत्व क्षमता विकास, निर्णय प्रक्रियामा सहभागिता तथा नागरिक उत्तरदायित्वबोध अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय शासनप्रति युवाहरूको चासो र सहभागिता बढाउन यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने उल्लेख गर्नुभयो।
कार्यक्रमले युवाहरूमा नेतृत्व विकास, संवाद कला, सहकार्य तथा स्थानीय शासनप्रतिको सकारात्मक सोच निर्माण गर्न सहयोग पुगेको विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

३ असार २०८३, बुधबार १५:५१