जनतापत्र सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालन गरिरहेका विभिन्न विकास योजनाहरूको स्थलगत अनुगमन सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक इन्जिनियर तथा सम्बन्धित कर्मचारीहरूको संयुक्त सहभागितामा अनुगमन गरिएको हो।
अनुगमनका क्रममा निर्माणाधीन तथा सञ्चालनमा रहेका योजनाहरूको प्रगति, गुणस्तर, समयसीमा तथा समग्र कार्यान्वयन अवस्थाको मूल्याङ्कन गरिएको थियो। टोलीले योजनाहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक सुझाव तथा निर्देशन समेत प्रदान गरेको जनाएको छ।

गाउँपालिका नेतृत्वले विकास निर्माणका कामहरू निर्धारित मापदण्डअनुसार गुणस्तरीय ढंगले सम्पन्न हुनुपर्नेमा जोड दिँदै समयमै काम सम्पन्न गर्न निर्माण पक्ष तथा सम्बन्धित सरोकारवालालाई निर्देशन दिएको छ। साथै, विकास आयोजनाहरूबाट स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण सिर्जना गर्न नियमित अनुगमन र मूल्याङ्कनलाई निरन्तरता दिइने बताइएको छ।
स्थलगत अनुगमनले योजनाको वास्तविक अवस्था बुझ्न, देखिएका समस्या पहिचान गर्न तथा समयमै समाधानका उपाय अवलम्बन गर्न महत्वपूर्ण भूमिका खेलेको गाउँपालिकाले जनाएको छ। स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजनालाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन यस्ता अनुगमन गतिविधि आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
३ असार २०८३, बुधबार ०६:०७