नगरकोटमा सहकारी पत्रकारिता तालिम सम्पन्न


सुनिता रखाल, भक्तपुर ।
भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा सहकारी पत्रकारिता तालिम तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाबाट आएका ४० जना पत्रकारहरूको सहभागिता रहेको थियो ।


कार्यक्रममा सहकारी क्षेत्रसँग सम्बन्धित पत्रकारितालाई प्रभावकारी, तथ्यपरक र जिम्मेवार बनाउने विषयमा विभिन्न विज्ञहरूले प्रशिक्षण तथा अन्तरक्रिया गरेका थिए । सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाई ले सहकारी पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे प्रशिक्षण दिएका थिए । यस्तै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईं ले सहकारी संस्थाको वित्तीय विवरण विश्लेषण सम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।


त्यसैगरी हिक्मत आचार्य ले मिथ्या सूचना, डिजिटल माध्यममा फैलिने भ्रमपूर्ण सामग्री तथा तथ्य जाँचको महत्वबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागी पत्रकारहरूले सहकारी क्षेत्रका समाचारलाई अझ विश्वसनीय र अनुसन्धानमुखी बनाउन तालिम उपयोगी भएको बताएका छन् ।
समापन कार्यक्रममा बागमती प्रदेश सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य सूर्य सुवेदी, महासंघ ललितपुर अध्यक्ष रामहरि कार्की तथा फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजन नेपाल पत्रकार महासंघ बागमती प्रदेश सचिव काजी श्रेष्ठ ले गरेका थिए । कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याएको भन्दै आयोजकले बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयप्रति आभार व्यक्त गरेको छ ।

२७ बैशाख २०८३, आईतवार २२:०७