काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनका लागि छुट्टै संगठनात्मक प्रक्रिया अघि बढाएको छ। यसअन्तर्गत देउवा पक्षले आजदेखि देशभर वडा अधिवेशन सुरु गर्दैछ।
देउवा पक्षले शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन तयारी समिति गठन गरेर अधिवेशन प्रक्रिया अघि बढाएको हो।
यसअघि गगन थापा नेतृत्वको कांग्रेसले असोज ३ र ४ गते नै वडा अधिवेशन सम्पन्न गरिसकेको थियो। उक्त प्रक्रियामा देउवा पक्ष सहभागी भएको थिएन। त्यसपछि देउवा पक्षले आफ्नै प्रक्रियाअनुसार वडा अधिवेशन गर्न लागेको हो।
६ हजार ७ सय ४३ वडामा अधिवेशन गर्ने तयारी
देउवा पक्षका अनुसार देशभरका ६ हजार ७ सय ४३ वडामा वडा अधिवेशन गरिनेछ।
निवर्तमान सभापति देउवाले अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। बिहीबार अपिल जारी गर्दै उनले लामो इतिहास बोकेको कांग्रेसका लागि १५औँ महाधिवेशन महत्वपूर्ण रहेको बताएका छन्।
देउवाले लोकतान्त्रिक गणतन्त्र, प्रेस स्वतन्त्रता र विधिको शासनका लागि कांग्रेसले गर्दै आएको संघर्ष तथा योगदानलाई थप मजबुत बनाउन महाधिवेशन आवश्यक रहेको उल्लेख गरेका छन्।
उनले पार्टीभित्र देखिएका मतभेदलाई महाधिवेशनमार्फत सम्बोधन गर्दै संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
पदाधिकारी र केन्द्रीय सदस्य स्वतः प्रतिनिधि
देउवा पक्षले आफ्नो अधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यलाई वडा तहबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छैन।
विधानको पुरानो व्यवस्थालाई निरन्तरता दिँदै पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको छ।
यसअघि गगन थापा पक्षले अघि बढाएको अधिवेशन प्रक्रियामा भने जुनसुकै तहका नेतासमेत वडा तहबाटै प्रतिनिधि चयन भएर आउनुपर्ने व्यवस्था गरिएको थियो।
मंसिरमा केन्द्रीय महाधिवेशनको तयारी
गत पुसमा भएको विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन। अहिले छुट्टै प्रक्रिया अघि बढाएको देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।
१५ आश्विन २०८३, बिहीबार १०:२५