जनतापत्र, सिन्धुपाल्चोक ।
विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार र राहत कार्यलाई सुदृढ बनाउने उद्देश्यले आयोजित दुई दिने विपद् स्वयंसेवक ब्यूरो गठन, परिचालन तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। दुई दिनसम्म सञ्चालन भएको तालिममा विपद् व्यवस्थापनका आधारभूत सिद्धान्त, खोज तथा उद्धार, प्राथमिक उपचार, विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण तथा स्वयंसेवकहरूको भूमिका सम्बन्धी विषयमा सहजीकरण गरिएको थियो।
कार्यक्रममार्फत स्थानीय स्तरमा विपद् स्वयंसेवक ब्यूरो गठन गरी विपद्का बेला तत्काल परिचालन गर्न सकिने जनशक्ति तयार गरिएको आयोजकले जनाएको छ। सहभागीहरूले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समुदायमा विपद् सचेतना अभिवृद्धि गर्न योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
समापन समारोहमा बोल्दै वक्ताहरूले प्राकृतिक तथा मानव सिर्जित विपद्को जोखिम बढ्दै गइरहेको अवस्थामा प्रशिक्षित स्वयंसेवकहरूको भूमिका महत्वपूर्ण हुने बताए। उनीहरूले समुदायस्तरमै सक्षम र सक्रिय स्वयंसेवक परिचालन गर्न सके विपद्बाट हुने क्षति न्यूनीकरणमा ठूलो सहयोग पुग्ने धारणा राखे।

कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। स्थानीय तहमा विपद् व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वासका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
९ असार २०८३, मंगलवार ११:११