जनतापत्र चौतारा ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका वडा नं११ को भिमटारमा महिलाहरूको सामाजिक तथा आर्थिक सशक्तीकरणलाई लक्षित गर्दै दिगो कृषि कार्यक्रमअन्तर्गत घरेलु जैविक मल बनाउने सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।
कमलको फूल महिला बहुउद्देश्यीय सहकारीको आयोजनामा तथा टेवा संस्थाको आर्थिक सहयोगमा मिति २०८३ साल जेठ ९ र १० गते सञ्चालन गरिएको तालिममा २० जना महिलाको सहभागिता रहेको थियो।

तालिममा तरकारी खेतीमा लाग्ने रोग तथा किराको न्यूनीकरण गर्न घरेलु प्रविधिबाट जैविक मल तयार गर्ने तरिका, यसको प्रयोग विधि तथा सुरक्षित तरकारी उत्पादनका विषयमा प्रशिक्षण दिइएको थियो। सहभागी महिलाहरूलाई विशेषगरी टनेल प्रविधिमार्फत तरकारी खेती गर्न प्रोत्साहित गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा थोपा सिंचाइ प्रविधिबाट सिंचाइ गर्ने विधिबारे समेत जानकारी दिइएको थियो। कृषिमा आधुनिक तथा वातावरणमैत्री प्रविधिको प्रयोगले उत्पादन वृद्धि हुनुका साथै श्रम र पानीको समेत बचत हुने प्रशिक्षकहरूले बताएका थिए।
महिलाहरूको जीविकोपार्जनमा थप टेवा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले सहभागीहरूलाई व्यावहारिक कृषि ज्ञान र सीप प्रदान गरेको विश्वास गरिएको छ। तालिममा सहभागी महिलाहरूले सिकेका सीपलाई व्यवहारमा लागू गर्दै व्यावसायिक तरकारी खेतीतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आयोजक संस्थाका अनुसार महिलाहरूलाई आत्मनिर्भर बनाउने, आयआर्जन वृद्धि गर्ने तथा दिगो कृषिमा आकर्षित गराउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ। स्थानीय स्तरमा जैविक खेतीको प्रवद्र्धन तथा महिला सशक्तीकरणमा यस्ता तालिम प्रभावकारी हुने अपेक्षा गरिएको छ।
११ जेष्ठ २०८३, सोमबार १३:१३