जनतापत्र चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १२ को आयोजनामा लक्षित वर्ग कार्यक्रमअन्तर्गत दलित समुदायको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष दिपेन्द्र नेपालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा आर्थिक रूपमा विपन्न दलित परिवारहरूलाई बाख्रा वितरण गरिएको हो। कार्यक्रमको उद्देश्य दलित समुदायलाई स्वरोजगारतर्फ प्रेरित गर्दै पशुपालनमार्फत आम्दानी वृद्धि गर्न सहयोग पुर्याउनु रहेको वडा कार्यालयले जनाएको छ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष नेपालले लक्षित वर्गका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै दलित समुदायको आर्थिक सशक्तीकरणका लागि वडा कार्यालय निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले वितरण गरिएका बाख्राको उचित पालनपोषण गरी दीर्घकालीन आयआर्जनको माध्यम बनाउन लाभग्राहीहरूलाई आग्रह गर्नुभयो।
बाख्रा प्राप्त गरेका लाभग्राहीहरूले वडा कार्यालयप्रति धन्यवाद व्यक्त गर्दै यस सहयोगले आफ्नो जीविकोपार्जनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनीहरूले पशुपालन विस्तार गरी पारिवारिक आम्दानी बढाउने प्रतिबद्धता पनि जनाए।
स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा लाभग्राहीहरूको सहभागिता रहेको उक्त कार्यक्रमले दलित समुदायको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। वडा कार्यालयले आगामी दिनमा पनि यस्ता उत्पादनमुखी तथा आयआर्जनमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
१४ असार २०८३, आईतवार ११:५९