एउटा चुनावको नतिजाकै भरमा कम्युनिस्ट आन्दोलनको भविष्य सकियो भन्नु हतारो हुन्छ: पूर्वराष्ट्रपति भण्डारी

जनतापत्र, काठमाण्डौं ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कुनै एउटा निर्वाचनको परिणामलाई मात्रै आधार मानेर नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य वा ‘जनताको बहुदलीय जनवाद’ को सान्दर्भिकतामाथि प्रश्न उठाउनु हतारो हुने बताएकी छन्।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कम्युनिस्ट आन्दोलन यतिबेला नयाँ सम्भावना र चुनौतीको दोबाटोमा उभिएको धारणा राखिन्। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले कम्युनिस्ट पार्टीहरूलाई आफ्ना कमजोरी सुधार्ने, प्राथमिकताहरू बदल्ने र जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर दिएको उनको भनाइ थियो।

पूर्वराष्ट्रपति भण्डारीले कम्युनिस्ट आन्दोलनभित्र गम्भीर आत्मसमीक्षा र आत्ममन्थनको आवश्यकता औंल्याउँदै भनिन्, “समय द्रुत गतिमा बदलिँदै छ। नयाँ पुस्ताको आगमन, सामाजिक संरचनामा आएको फेरबदल, प्रविधिको विकास र युवाहरूका नयाँ अपेक्षाहरूलाई सम्बोधन गर्न कम्युनिस्ट आन्दोलनले आफ्ना मूल सिद्धान्त अक्षुण्ण राख्दै कार्यशैली र सङ्गठनात्मक ढाँचामा परिमार्जन गर्नैपर्छ।”

मदन भण्डारीको भनाइ उद्धृत गर्दै उनले कम्युनिस्ट आन्दोलनको मुख्य कमजोरी नै ‘सृजनशीलताको कमी’ हुनु रहेको र वर्तमान परिवेशमा यो झन् बढी सत्य प्रमाणित भएको बताइन्। बदलिँदो जनचाहना र देशको आवश्यकता अनुसार नेतृत्व र नीतिमा रूपान्तरण हुन नसक्दा जनताको भरोसामा केही कमी आएको यथार्थलाई उनले स्वीकार गरिन्।

अब विगतका राजनीतिक उपलब्धिहरूको मात्रै चर्चा गरेर बस्ने समय नरहेको उल्लेख गर्दै उनले वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिन सक्ने वैचारिक क्षमता विकास गर्नुपर्नेमा जोड दिइन्। जनताको मन जित्न सिद्धान्तको पुरानै रटानले मात्र काम नगर्ने भन्दै उनले समय अनुकूल र परिणाममुखी राजनीतिक अभ्यासको खाँचो औंल्याइन्।

विशेष गरी युवा पुस्ताका चाहना, डिजिटल युगका हाँकहरू, गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय, सुशासन र आत्मनिर्भर अर्थतन्त्र जस्ता विषयमा नयाँ दृष्टिकोणका साथ व्यावहारिक रूपमा काम गर्न सके मात्र कम्युनिस्ट आन्दोलन लोकप्रीय र सुदृढ बन्ने विश्वास पूर्वराष्ट्रपति भण्डारीले व्यक्त गरिन्।

१४ असार २०८३, आईतवार १९:०२