ग्रामीण महिला सिर्जनशील परिवारको २७औँ साधारणसभा तथा १४औँ अधिवेशन सम्पन्न


सुनिता रखाल, सिन्धुपाल्चोक ।
ग्रामीण महिला सिर्जनशील परिवारको २७औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट नानीमाया थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत तथा निर्विरोध रूपमा चयन भएको हो।


नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा नानीमाया थापा, उपाध्यक्षमा सुमित्रा अधिकारी, महासचिवमा कल्पना कार्की, सचिवमा रबिना तामाङ, कोषाध्यक्षमा सुनिता कार्की, सदस्यहरूमा ज्ञानु तामाङ र कान्छी विश्वकर्मा निर्विरोध चयन हुनुभएको छ। संस्थाकी पूर्वअध्यक्ष जयन्ती खड्का पदेन सदस्य रहनुभएको छ भने एक सदस्य मनोनयन गर्न बाँकी रहेको जनाइएको छ।
अधिवेशनमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरी अनुमोदन गरिएको थियो। सहभागीहरूले संस्थाले महिला सशक्तीकरण, उद्यमशीलता विकास, सीप अभिवृद्धि तथा सामाजिक रूपान्तरणका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
नवनिर्वाचित अध्यक्ष नानीमाया थापाले आफूलाई नेतृत्वको जिम्मेवारी सुम्पिएकोमा सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै संस्थाको उद्देश्यअनुसार सबैलाई साथमा लिएर महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व विकासका क्षेत्रमा अझ सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


अधिवेशनमा उपस्थित सदस्य तथा शुभेच्छुकहरूले नवनिर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल, उपलब्धिमूलक र प्रभावकारी कार्यकालको शुभकामना व्यक्त गरेका छन्। ग्रामीण महिला सिर्जनशील परिवारले आगामी दिनमा पनि समुदायमा महिलाको क्षमता विकास, आयआर्जन तथा सामाजिक सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिने विश्वास व्यक्त गरिएको छ।

१४ असार २०८३, आईतवार ११:४८