थापाथलीमा मोटरसाइकल–स्कुटर ठोक्किँदा एकको ज्यान गयो, दुई घाइते

काठमाडौं — काठमाडौंको थापाथलीमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार बुधबार राति ११ बजेर ५३ मिनेटमा राम मन्दिरबाट रोजबड स्कुलतर्फ जाने पुलनजिक दुर्घटना भएको हो। बा ४१ प ४७०८ नम्बरको मोटरसाइकल र बा प्र ०२–०६२ प ९६३१ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक रौतहट कटहरिया नगरपालिका–२ का २७ वर्षीय चन्द्रमा दास तत्मा गम्भीर घाइते भएका थिए। उनलाई राष्ट्रिय ट्रमा सेन्टर हुँदै थप उपचारका लागि अन्नपूर्ण अस्पताल लगिएको थियो। अस्पतालले बिहीबार बिहान १ः१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दासको शव पोस्टमार्टमका लागि बिहान ४ः०५ बजे शिक्षण अस्पताल पठाइएको छ। दुर्घटनासम्बन्धी मुचुल्का तयार गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

दुई जना घाइते

स्कुटरको पछाडि सवार सर्लाही मलंगवा नगरपालिका–७ का ३७ वर्षीय मोहन साह सामान्य घाइते भएका छन्। उनको दाहिने खुट्टामा चोट लागेको थियो। उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, मोटरसाइकलमा सवार रौतहट कटहरिया नगरपालिका–२ का ३० वर्षीय दीपेन्द्र दास पनि घाइते भएका छन्। उनको दाहिने आँखाको भौँमाथि चोट लागेको र दुर्घटनापछि उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न स्कुटर चालक चितवन कालिका नगरपालिका–५ का २३ वर्षीय सुदीप श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल उनी काठमाडौंको शंखमूलमा बस्दै आएको प्रहरीले जनाएको छ।

दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

१५ आश्विन २०८३, बिहीबार १०:२१