जनतापत्र,सिन्धुपाल्चोक, ।
जुगल गाउँपालिकाको आयोजनामा जुगल गाउँपालिका–४ स्थित तेम्बाथाङ सामुदायिक स्वास्थ्य इकाईमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट १५६ जनाले सेवा लिएका छन्।

दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा आँखा परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो।
शिविरका क्रममा स्वास्थ्य परीक्षण गर्दा ४ जनामा मोतियाबिन्दु (क्याटार्याक्ट) र ३ जनामा निस्टाग्मस (आँखाको अनियन्त्रित गति हुने समस्या) पहिचान भएको जुगल गाउँपालिकाले जनाएको छ। पहिचान भएका बिरामीहरूलाई थप उपचार तथा आवश्यक सेवाका लागि सम्बन्धित स्वास्थ्य संस्थामा सिफारिस गरिएको छ।
त्यसैगरी, परीक्षणका क्रममा दृष्टि समस्या भएका सेवाग्राहीहरूलाई आवश्यकताअनुसार निःशुल्क चस्मा वितरण गरिएको थियो। शिविरबाट स्थानीय बासिन्दाले प्रत्यक्ष रूपमा लाभ लिएको र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी रहेको सहभागीहरूले बताएका छन्।
गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा पनि विभिन्न विशेषज्ञ स्वास्थ्य शिविर तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।
२२ जेष्ठ २०८३, शुक्रबार ०६:४५