जुनियर तेक्वान्दो खेलाडीहरूको ग्रेडिङ कार्यक्रम सम्पन्न

जनतापत्र,सिन्धुपाल्चोक ।

हिराहरी तेक्वान्दो डोजाङ, चौताराको आयोजनामा सिनियर तथा जुनियर तेक्वान्दो खेलाडीहरूको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ। चौतारा रंगशालास्थित हिराहरी तेक्वान्दो डोजाङको तालिम हलमा आयोजित कार्यक्रममा खेलाडी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको ग्रेडिङ कार्यक्रममा सिनियर तथा जुनियर खेलाडीहरूले विभिन्न तहका पेटीका लागि परीक्षा दिएका थिए। कार्यक्रममा मेनुका श्रेष्ठ, आयन श्रेष्ठ, सदिना खत्री, रेगिना गुरुङ, युग काफ्ले, माधव विक, विजय श्रेष्ठ, निभा श्रेष्ठलगायत खेलाडीहरूको सक्रिय सहभागिता रहेको थियो।

सिनियरतर्फ रातो–कालो पेटीबाट कालो पेटी प्रथम डानमा उमेर तामाङ उत्तीर्ण हुन सफल भएका छन्। त्यसैगरी जुनियरतर्फ पहेँलो–हरियो पेटीमा इश्वर थापा, हरियो पेटीमा पासाङ तामाङ र सुहानी श्रेष्ठ तथा हरियो–निलो पेटीतर्फ आरुष श्रेष्ठ डबल प्रमोसनसहित उत्तीर्ण हुन सफल भएका छन्। अन्य सहभागी खेलाडीहरू पनि विभिन्न तहमा उत्तीर्ण भएका आयोजकले जनाएको छ।

कार्यक्रममा ज्येष्ठ प्रशिक्षार्थी धुर्बलाल श्रेष्ठले सिनियर खेलाडीहरूलाई नेपाली तथा कोरियन भाषामा तयार पारिएको प्रमाणपत्र वितरण गर्नुभएको थियो। उहाँले ग्रेडिङ परीक्षा अघि खेलाडीहरूलाई अनुशासन, निरन्तर अभ्यास र आत्मविश्वासको महत्वबारे प्रेरणादायी मन्तव्यसमेत दिनुभएको थियो।

ग्रेडिङ परीक्षा सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो कार्य समितिका उपाध्यक्ष तथा डोजाङ प्रमुख रमेश गुरुङ ले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा उहाँले उत्तीर्ण खेलाडीहरूलाई बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गर्नुभयो।

११ जेष्ठ २०८३, सोमबार ०५:१३