जनतापत्र,सिन्धुपाल्चोक ।
बलेफी गाउँपालिकाद्वारा आयोजित स्वास्थ्यकर्मीहरूका लागि DHIS-2 र PAMS सम्बन्धी तीन दिने अभिमुखीकरण तालिम आज मिति २०८३ जेठ ६ गते सम्पन्न भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको तालिममा गाउँपालिकाभित्र कार्यरत विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिमको मुख्य उद्देश्य स्वास्थ्य सेवा प्रवाहलाई प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउनुका साथै स्वास्थ्यसम्बन्धी तथ्यांक व्यवस्थापनलाई थप सुदृढ गर्नु रहेको जनाइएको छ। कार्यक्रममा DHIS-2 प्रणालीमार्फत स्वास्थ्य तथ्यांक संकलन, अभिलेखीकरण तथा प्रतिवेदन प्रणालीबारे विस्तृत जानकारी दिइएको थियो भने PAMS प्रणालीको प्रयोग, व्यवस्थापन तथा व्यवहारिक अभ्याससमेत गराइएको थियो। नेपालमा स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली सुदृढ गर्न DHIS-2 प्रयोग भइरहेको छ।
तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रतिनिधिहरूले स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारका लागि सूचना प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको बताए। सहभागी स्वास्थ्यकर्मीहरूले तालिमबाट दैनिक कार्यसम्पादनमा सहजता आउने, तथ्यांक व्यवस्थापन व्यवस्थित हुने तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
गाउँपालिकाले आगामी दिनमा पनि स्वास्थ्यकर्मीहरूको क्षमता विकास, डिजिटल प्रणालीको प्रभावकारी कार्यान्वयन तथा स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। बलेफी गाउँपालिकाले स्वास्थ्य तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
११ जेष्ठ २०८३, सोमबार ०५:१७