सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


सुनिता रखाल, सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिकामा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सही सूचना, सीप र कानुनी प्रक्रियाबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालय, बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा चौतारा साँगाचोक गढि नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा स्थानीय तहका न्यायिक समिति, निर्वाचित वडा जनप्रतिनिधि तथा मेलमिलापकर्ताहरूको सहभागिता रहेको थियो।


कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा देखिने समस्या, श्रमिक ठगी, सुरक्षित आप्रवासनका उपाय, श्रम स्वीकृति, वैदेशिक रोजगारीका कानुनी प्रक्रिया तथा सीपमूलक तालिमको आवश्यकताबारे छलफल गरिएको थियो। सहभागीहरूलाई विदेश जानुअघि आधिकारिक माध्यमबाट मात्रै प्रक्रिया पूरा गर्न, आवश्यक सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जान तथा कुनै समस्या परे सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र उपलब्धिमूलक बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। उनीहरूले गाउँ–गाउँसम्म सही सूचना पु¥याउन जनप्रतिनिधि तथा मेलमिलापकर्ताले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
सामि परीयोजनाको सहकार्यमा सम्पन्न कार्यक्रमले वैदेशिक रोजगारीका विषयमा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागीहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सचेतना अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

८ जेष्ठ २०८३, शुक्रबार १५:०८