जनतापत्र सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११ को इन्द्रावति माद्यामिक विद्यालयमा बालविवाह, बाल यौन हिंसा, साइबर अपराध तथा लागू पदार्थ दुव्र्यसनी न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालय तथा समुदायस्तरमा बालबालिका र युवालाई लक्षित गरी सञ्चालन गरिएको उक्त अभियानमा विभिन्न सामाजिक समस्याबारे जानकारी दिइएको थियो।

कार्यक्रममा बालविवाहका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा पर्ने नकारात्मक असरबारे चर्चा गरिएको थियो। साथै, बढ्दो साइबर अपराध र सामाजिक सञ्जालको दुरुपयोगबाट बच्ने उपायबारे पनि सहभागीलाई सचेत गराइएको थियो। लागू पदार्थ दुव्र्यसनले समाजमा पार्ने असर तथा त्यसबाट टाढा रहनुपर्ने आवश्यकता विषयमा समेत जानकारी प्रदान गरिएको थियो।
नगर बाल सञ्जालको समन्वय तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्। यो कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३को श्री कुण्डला देवी माद्यामिक विद्यालय र चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५को श्री दिनेश रामजि प्राविधिक विद्यालयमा पनि सम्पन्न भइसकेको छ । कार्यक्रमले बालअधिकार संरक्षण तथा सुरक्षित समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
९ जेष्ठ २०८३, शनिबार ०६:१४