जुगल गाउँपालिकामा १५ दिने होमस्टे तालिम सुरु


जनतापत्र, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा गृहिणी महिलाहरूको क्षमता विकास तथा आर्थिक सशक्तीकरणलाई लक्षित गर्दै १५ दिने होमस्टे तालिम सुरु गरिएको छ। जुगल गाउँपालिकाको आयोजनामा तथा सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चोकको समन्वयमा सञ्चालित “गृहिणी महिला सशक्तीकरण कार्यक्रम” अन्तर्गत उक्त तालिम मिति २०८३ साल जेठ ७ गतेदेखि सञ्चालनमा आएको हो।
तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय अगुवा, सरोकारवाला निकायका प्रतिनिधि तथा सहभागी महिलाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले ग्रामीण पर्यटन प्रवर्द्धनसँगै महिलाहरूलाई आत्मनिर्भर बनाउन होमस्टे सञ्चालन सम्बन्धी सीप अत्यन्त आवश्यक रहेको बताएका थिए।


तालिममार्फत सहभागी महिलाहरूलाई होमस्टे सञ्चालनका आधारभूत विधि, पाहुना सत्कार, सरसफाइ, स्थानीय परिकार व्यवस्थापन, पर्यटकसँगको व्यवहार तथा पर्यटनमैत्री वातावरण निर्माण सम्बन्धी विषयमा प्रशिक्षण दिइने जनाइएको छ। स्थानीय कला, संस्कृति र मौलिक परम्परालाई संरक्षण गर्दै पर्यटनमार्फत आयआर्जन बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
विशेषगरी ग्रामीण क्षेत्रमा रहेका गृहिणी महिलाहरूलाई स्वरोजगार र उद्यमशीलतासँग जोड्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो। सहभागी महिलाहरूले तालिमपछि आफ्नै गाउँघरमा होमस्टे सञ्चालन गरी आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमले जुगल गाउँपालिकामा पर्यटन विकास, स्थानीय उत्पादनको प्रवर्द्धन तथा महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजक पक्षले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गरी दिगो आयआर्जनतर्फ अग्रसर हुन सहभागी महिलाहरूलाई आग्रह गरेको छ।

११ जेष्ठ २०८३, सोमबार १३:३२