जिल्ला स्तरीय बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रगति समीक्षा सम्पन्न


जनतापत्र,चौतारा ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा जिल्ला स्तरीय बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रगति समीक्षा कार्यक्रम सोमबार चौतारास्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ।


जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाभित्र सञ्चालन भइरहेका बहुक्षेत्रीय पोषण कार्यक्रमहरूको हालसम्मको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका लगायत पोषणसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न सरकारी कार्यालय, स्थानीय तह तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पोषण सुधारका लागि विभिन्न निकायबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउँदै स्थानीय तहमा सञ्चालन भइरहेका कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए।


अध्यक्ष बालकृष्ण श्रेष्ठले बहुक्षेत्रीय पोषण कार्यक्रमलाई सफल बनाउन सबै सरोकारवाला निकायको सक्रिय समन्वय, नियमित अनुगमन र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै कुपोषण न्यूनीकरण र स्वस्थ समाज निर्माणका लागि संयुक्त प्रयास अपरिहार्य रहेको बताए।
कार्यक्रममा प्रस्तुत प्रगति प्रतिवेदनमाथि छलफल गर्दै सहभागीहरूले पोषणसम्बन्धी सूचकहरूमा सुधार ल्याउन स्थानीय तहको भूमिका थप सुदृढ बनाउन, लक्षित समुदायसम्म सेवा प्रभावकारी रूपमा पु¥याउन तथा आगामी दिनमा कार्यक्रमलाई अझ व्यवस्थित ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
मिति २०८३ असार २२ गते सोमबार चौतारास्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न समीक्षा कार्यक्रमले बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

२३ असार २०८३, मंगलवार १५:४६