जनतापत्र,सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिका–१० का नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालय र काठमाडौं मेडिकल कलेज के एम सी अस्पताल, दुवाकोटबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार वडा नं. १० का सम्पूर्ण नागरिकले के एम सी अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। साथै, आर्थिक अवस्था कमजोर भएका १० जना नागरिकलाई शतप्रतिशत (१००%) निःशुल्क उपचार उपलब्ध गराइने व्यवस्था गरिएको छ।

यस सम्झौताले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने नागरिकलाई राहत पुग्ने विश्वास गरिएको छ। विशेषगरी विपन्न तथा असहाय परिवारलाई लक्षित गरी निःशुल्क उपचारको व्यवस्था गरिनु सामाजिक उत्तरदायित्वको दृष्टिले महत्वपूर्ण कदम मानिएको छ।
वडा कार्यालयले वडा नं. १० का सम्पूर्ण नागरिकलाई आवश्यक स्वास्थ्य उपचारका लागि के एम सी अस्पताल, दुवाकोटबाट उपलब्ध हुने सहुलियतपूर्ण सेवाको लाभ लिन आग्रह गरेको छ। उपचारका क्रममा आवश्यक प्रक्रिया तथा सिफारिसका लागि वडा कार्यालयसँग समन्वय गर्न पनि अनुरोध गरिएको छ।

यस अवसरमा वडा कार्यालयले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै सहकार्यका लागि प्रतिबद्धता जनाएको के एम सी अस्पताल परिवारप्रति हार्दिक आभार व्यक्त गरेको छ। स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने यस प्रकारको सहकार्यले स्थानीय नागरिकको जीवनस्तर सुधारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।


५ श्रावण २०८३, मंगलवार ११:०२