चौतारा साँगाचोकगढी नगरपालिकाका सबै वडामा स्वास्थ्य, पोषण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन


जनतापत्र,चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाका सबै वडाहरूमा स्वास्थ्य, पोषण तथा सरसफाइ प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ।


नगरपालिकाको स्वास्थ्य शाखा तथा मातहतका स्वास्थ्य संस्थाहरूको समन्वयमा विद्यालय स्तरीय पोषण सम्बन्धी प्रदर्शनी कार्यक्रम, सुनौलो हजार दिनका आमाहरूका लागि पोषिलो जाउलो बनाउने विधिको प्रदर्शनी, स्वास्थ्य आमा समूहमा महिनावारी सरसफाइ तथा स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम, जोखिमपूर्ण समयमा हात धुने, व्यक्तिगत सरसफाइ तथा पानी शुद्धीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन्।


त्यसैगरी स्थानीय स्तरमा उपलब्ध पोषणयुक्त खाद्य पदार्थहरूको प्रवद्र्धन गर्ने उद्देश्यले फुड फेस्टिभल आयोजना गरिएको थियो। विभिन्न वडाहरूमा स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रममार्फत नागरिकहरूको स्वास्थ्य अवस्था पहिचान गरी आवश्यक परामर्शसमेत प्रदान गरिएको थियो।
नगरपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको आवास गृहमा विशेष स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो। साथै “क्षयरोग मुक्त नेपाल अभियान” अन्तर्गत वडा स्तरीय समिति अभिमुखीकरण, प्रगति समीक्षा, योजना निर्माण तथा अन्तरक्रिया कार्यक्रमहरू पनि सम्पन्न भएका छन्।
कार्यक्रमहरूमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थी, आमा समूह तथा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो। नगरपालिकाले यस्ता कार्यक्रममार्फत समुदायमा स्वास्थ्य, पोषण, सरसफाइ तथा रोग नियन्त्रण सम्बन्धी चेतना अभिवृद्धि गर्दै स्वस्थ र समृद्ध समाज निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ।

२९ जेष्ठ २०८३, शुक्रबार ११:२०