जनतापत्र चौतारा ।
चौतारास्थित प्रादेशिक अस्पतालमा देखिएका समस्या समाधानका लागि औपचारिक पहल सुरु
गरिएको छ। महिला सशक्तीकरण तथा बालबालिका उत्थान समाजकी केन्द्रीय अध्यक्ष सरोज श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै अस्पतालको सेवा सुधारका लागि आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन गर्न आग्रह गरेकी हुन्।

मन्त्रालयलाई पठाइएको पत्रमा अस्पतालमा स्त्रीरोग, बालरोग र एनेस्थेसिया सेवासम्बन्धी विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको उल्लेख गर्दै तत्काल कम्तीमा एक–एक जना विशेषज्ञ नियुक्त गर्न माग गरिएको छ। साथै, ल्याप्रोस्कोपिक र एन्डोस्कोपिक उपकरण नहुँदा बिरामीले आवश्यक सेवा पाउन नसकेको र उपचारका लागि अन्य जिल्ला वा काठमाडौं जानुपर्ने बाध्यता रहेको पनि औंल्याइएको छ।
५० शय्याको यस अस्पतालमा दैनिक करिब २८० जना बिरामीले सेवा लिँदै आएका छन्, जसमा अधिकांश महिला र बालबालिका छन्। तर, सीमित जनशक्ति र आवश्यक उपकरण अभावका कारण सामान्यदेखि जटिल अवस्थासम्मका बिरामीलाई बाहिर पठाउनुपर्दा स्थानीयवासीले आर्थिक तथा समयको अतिरिक्त भार व्यहोर्नुपरेको पत्रमा उल्लेख छ।
अध्यक्ष श्रेष्ठले अस्पताल सुधारका लागि स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ र एनेस्थेसियोलोजिस्टसहित अत्यावश्यक उपकरण तुरुन्त उपलब्ध गराउन जोड दिएकी छन्। केही दिनअघि गरिएको अस्पताल अवलोकनपछि देखिएका समस्या सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धताअनुसार यो पहल गरिएको बताइएको छ।
स्थानीय स्तरमा भने यस कदमलाई अस्पतालको सेवा गुणस्तर सुधारतर्फ सकारात्मक प्रयासका रूपमा हेरिएको छ।
५ बैशाख २०८३, शनिबार ०८:४३