
जनतापत्र,सिन्धुपाल्चोक ।
चीनसँगको अन्तर्राष्ट्रिय नाका जोड्ने स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड स्तरोन्नतिका लागि बुधबारदेखि १५ दिनका लागि बन्द गरिने भएको छ। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सडकमा पर्ने १० वटा जटिल स्थानमा रिटेनिङ वाल निर्माण गर्न सडक बन्द गर्न लागिएको जनाएको हो। आयोजनाका अनुसार आगामी तीन महिनासम्म प्रत्येक अंग्रेजी महिनाको १ गतेदेखि १५ गतेसम्म सडक पूर्ण रूपमा बन्द गरिनेछ।

सोही अनुसार बुधबारदेखि सुरु भएको बन्द २ वैशाखसम्म कायम रहनेछ। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालय, विदुरका प्रमुख कृष्णनाथ ओझाका अनुसार भौगोलिक जटिलताका कारण सडक बन्द गरेरै निर्माण कार्य गर्नुपर्ने अवस्था आएको हो। गत असार २४ गते आएको बाढीका कारण विभिन्न स्थानमा पहिरो खसेर सडकमा ठूलो क्षति पुगेको थियो। त्यसपछि केही स्थानमा मात्र २।५ देखि ३ मिटर चौडाइमा ट्र्याक खोल्दै सवारी सञ्चालन गरिएको थियो। त्यस्तै, अधिकांश क्षेत्रमा भोटेकोशी नदीले तलबाट सडक कटान गरेपछि पहाड कटिङ गरेर अस्थायी रूपमा सडक चौडा पारिएको थियो। स्याफ्रुबेंसीको दक्षिण पुलदेखि चीन–नेपाल सीमा जोड्ने रसुवागढी खण्डसम्म सडक पूर्ण रूपमा बन्द रहने जनाइएको छ।
१७ चैत्र २०८२, मंगलवार १७:४६