चाडपर्वअघि चौताराका मासु पसलमा नगरपालिकाको निगरानी

सिन्धुपाल्चोक । चाडपर्वका बेला मासुको खपत बढ्ने भएकाले चौतारा साँगाचोकगढी नगरपालिकाले मासु व्यवसायको स्वच्छता र व्यवस्थापनबारे निगरानी बढाएको छ। नगरपालिकाले बजार क्षेत्रका मासु पसल तथा बधशालाको स्थलगत निरीक्षण गर्दै व्यवसायीलाई सरसफाइमा ध्यान दिन आग्रह गरेको हो।

बुधबार उपप्रमुख सीता थापाको नेतृत्वमा खटिएको टोलीले वडा नम्बर ५ र ७ का ११ वटा मासु पसल र २ वटा बधशालाको अवस्था हेरेको थियो।

अनुगमनका क्रममा मासु काट्ने तथा बिक्री गर्ने ठाउँ, मासु राख्ने तरिका, पसलको सरसफाइ र बधशालाको व्यवस्थापनलगायत विषयमा निरीक्षण गरिएको नगरपालिकाले जनाएको छ।

सफाइमा अझै सुधार गर्नुपर्ने देखियो

स्थलगत निरीक्षणका क्रममा धेरैजसो मासु पसलमा सरसफाइको अवस्था सुधार गर्नुपर्ने देखिएको उपप्रमुख थापाले बताइन्।

उनका अनुसार मासु बिक्री गर्ने व्यवसायीले पसल तथा बधशाला सफा राख्नुका साथै मासु सुरक्षित रूपमा राख्ने र उपभोक्तालाई स्वच्छ अवस्थामा बिक्री गर्ने व्यवस्था मिलाउन आवश्यक छ।

नगरपालिकाले यसअघि पनि व्यवसायीलाई विभिन्न सहयोग र अनुदान उपलब्ध गराउँदै आएको भए पनि त्यसको अपेक्षाअनुसार व्यवसाय सञ्चालनस्थल व्यवस्थित हुन नसकेको उपप्रमुख थापाको भनाइ छ।

विज्ञसहित थप निरीक्षण गरिने

अनुगमनमा वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठ, उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल र उद्योग वाणिज्य संघका प्रतिनिधिसमेत सहभागी थिए।

उपप्रमुख थापाले आगामी दिनमा खाद्यसम्बन्धी विज्ञलाई समेत सहभागी गराएर अनुगमनलाई थप प्रभावकारी बनाउने बताइन्।

उनका अनुसार बजार अनुगमनको उद्देश्य व्यवसायीलाई त्रसित बनाउने नभई कमजोरी देखिएका पक्ष सुधार गर्न प्रेरित गर्नु र उपभोक्तालाई सुरक्षित खाद्य सामग्री उपलब्ध गराउनु हो।

चाडपर्वमा बजारमा मासुको माग बढ्ने भएकाले पसलको स्वच्छता, खाद्य सामग्रीको सुरक्षित व्यवस्थापन र नियमित अनुगमनलाई निरन्तरता दिनुपर्ने नगरपालिकाको भनाइ छ।

१ आश्विन २०८३, बिहीबार १३:००