रसुवामा राहत थुप्रियो, बाढीपीडित बस्तीमा पुर्‍याउन सडककै अभाव

काठमाडौं । भोटेकोशी बाढीपछि रसुवाको सदरमुकाम धुन्चेमा राहत सामग्री पर्याप्त मात्रामा जम्मा भए पनि प्रभावित दुर्गम बस्तीमा पुर्‍याउन समस्या भएको छ। बाढीले सडक र पुल बगाएपछि यातायात सम्पर्क विच्छेद हुँदा खाद्यान्नलगायतका राहत सामग्री हेलिकोप्टर र ड्रोनमार्फत सीमित मात्रामा पठाउनुपर्ने अवस्था छ।

गोसाइँकुण्ड गाउँपालिका–१ तार्सामा मंगलबार बाढीपीडित परिवारलाई राहत वितरण गरिएको थियो। घरबार गुमाएका परिवारलाई प्रतिपरिवार दुई पाथी चामल, दुई माना दाल र दुई लिटर खानेतेल उपलब्ध गराइएको पालिकाले जनाएको छ। यसअघि पनि करिब एक साताअघि सोही परिमाणमा राहत वितरण गरिएको थियो।

वडाध्यक्ष उर्केन छिरिङ लामाका अनुसार धुन्चेमा राहत सामग्री पर्याप्त भए पनि तार्सासम्म सडक नहुँदा आवश्यक मात्रामा सामग्री पुर्‍याउन सकिएको छैन। हेलिकोप्टरबाट ल्याइएको खाद्यान्न सीमित हुने भएकाले उपलब्ध सामग्रीलाई परिवारअनुसार बाँडेर व्यवस्थापन गर्नुपरेको उनको भनाइ छ।

धुन्चेमा चामलको मौज्दात, गाउँमा अभाव

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार रसुवाका बाढीपीडितका लागि ९९ हजार ९ सय केजी चामल प्राप्त भएकोमा ७८ हजार ९ सय १० केजी अझै मौज्दात छ। तर सडक अवरुद्ध हुँदा सदरमुकाममा रहेको खाद्यान्न प्रभावित गाउँसम्म पुर्‍याउन कठिन भइरहेको छ।

धुन्चेदेखि तार्सा करिब २१ किलोमिटर टाढा छ। गत भदौ १० गते आएको भोटेकोशी बाढीले यो क्षेत्र जोड्ने सडक बगाएपछि अहिलेसम्म नियमित सडक सम्पर्क पुनःस्थापित हुन सकेको छैन। गाउँमै खाद्यान्न किन्नसमेत समस्या भएपछि विस्थापित परिवार राहतमा निर्भर हुनुपर्ने अवस्था बनेको छ।

आमाछोदिङमो गाउँपालिकाका पाँचवटै वडा जोड्ने सडकमा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ। हाकु, नेसिङ, गत्लाङ, गोल्जुङ र चिलिमे आसपासका बस्ती सडकमार्फत सदरमुकामसँग जोडिन सकेका छैनन्। त्यसैले ती क्षेत्रमा राहत पुर्‍याउन हेलिकोप्टरको विकल्प तत्काल देखिएको छैन।

पालिका अध्यक्ष बुचुङ तामाङले सडक सम्पर्क नजोडिएसम्म राहत वितरणमा दीर्घकालीन सहजता नआउने बताए। विश्व खाद्य संगठनको सहयोगमा हेलिकोप्टरबाट राहत पुर्‍याइएकाले तत्काल खाद्यान्न अभावको अवस्था नरहे पनि निरन्तर हवाई ढुवानी सम्भव नहुने उनको भनाइ छ।

उनले सडक तथा पुल पुनर्निर्माणलाई तत्काल अघि बढाउन संघ र प्रदेश सरकारसँग आग्रह गरेका छन्।

हेलिकोप्टरसँगै ड्रोनबाट पनि राहत

आमाछोदिङमो–१ का वडाध्यक्ष सङ लामा तामाङका अनुसार पछिल्लो समय हेलिकोप्टरसँगै ड्रोनको प्रयोगबाट पनि प्रभावित बस्तीमा राहत पुर्‍याउन थालिएको छ। तर सडक र पुल पुनर्निर्माण नभएसम्म नियमित आपूर्ति सुनिश्चित गर्न कठिन हुने उनको भनाइ छ।

हाकुबेंसीमा बेलिब्रिज निर्माण गर्नुपर्ने मागसमेत स्थानीय जनप्रतिनिधिले अघि सारेका छन्। पुल बगेपछि त्रिशूली नदी पार गर्न सहज बनाउन तुइन निर्माणको कामसमेत थालिएको छ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नोर्पु तामाङले पनि बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि पहिलो प्राथमिकता सडक सञ्जाल पुनःजोड्नुपर्ने बताएका छन्। प्रभावित परिवारलाई सुरक्षित स्थानमा अस्थायी रूपमा राख्न जग्गा खोजी भइरहेको उनले जानकारी दिए।

केही क्षेत्रमा सडक खुलेपछि राहत सहज

उत्तरगया गाउँपालिकाका केही बस्तीमा भने सडक सम्पर्क पुनःस्थापित भएपछि राहत वितरण केही सहज भएको छ। पालिका उपाध्यक्ष चमेली गुरुङका अनुसार गोगने, तिरु, डाँडागाउँ र ठूलो गाउँमा धादिङतर्फबाट सवारीसाधन पुग्न थालेका छन्।

तर राहत सामग्री पुग्न थाले पनि विस्थापित परिवारलाई सुरक्षित स्थानमा राख्ने चुनौती कायमै रहेको उनले बताइन्। उत्तरगया–५ मा अस्थायी आवास निर्माणका लागि जग्गा खोजी भइरहेको छ।

उत्तरगयाका विभिन्न क्षेत्रमा बाढीका कारण ६१८ निजी घरमा क्षति पुगेको बताइएको छ।

कालिका गाउँपालिका–१ को गप्चेत क्षेत्रमा पनि सडक मर्मतपछि सवारीसाधन सञ्चालनमा आएका छन्। सडक खुलेसँगै राहत वितरणमा सहज भएको र हालसम्म ७२ परिवारलाई राहत उपलब्ध गराइएको वडाध्यक्ष दावा तामाङले जानकारी दिए। अब विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था आवश्यक रहेको उनले बताए।

नुवाकोटमा पनि पुल अभाव मुख्य समस्या

नुवाकोटका बिदुर, बेलकोटगढी, किस्पाङ र तार्केश्वरका विभिन्न क्षेत्र बाढीबाट प्रभावित भएका छन्। जिल्लामा आंशिक तथा पूर्ण रूपमा गरी करिब १ हजार ९ सय घरमा क्षति पुगेको छ। विभिन्न अस्थायी शिविरमा १ हजार ४ सय ९९ जना बसिरहेका छन्।

बिदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीका अनुसार राहत वितरण अहिले तुलनात्मक रूपमा सहज भए पनि त्रिशूली नदी वारपार गर्न पुलको अभावले स्थानीयको दैनिक जीवन प्रभावित छ। प्रभावित वडाहरूमा बेलिब्रिज निर्माणलाई प्राथमिकता दिनुपर्ने उनको माग छ।

बाढीका कारण विभिन्न जिल्लामा गरी ४० किलोमिटर सडक र ४१ वटा मोटरेबल पुल बगाएको तथ्यांक छ।

राहत सामग्रीको ठूलो परिमाण वितरण

प्राधिकरणका अनुसार रसुवा, नुवाकोट र धादिङमा हालसम्म ४५ हजार लिटर खानेतेल र ७५ हजार केजी नुन वितरण गरिएको छ।

नुवाकोटमा मात्रै १७ हजारभन्दा बढी जीवनजल, २ हजार ३ सयभन्दा बढी त्रिपाल, ४ सय ९७ पारिवारिक टेन्ट, २ हजार ३ सयभन्दा बढी कम्बल र १ हजारभन्दा बढी म्याट्रेस वितरण गरिएको छ। बालबालिका तथा महिलाका लागि कपडा, चप्पल र किशोरीका लागि आवश्यक सामग्री पनि वितरण गरिएको प्राधिकरणले जनाएको छ।

त्यस्तै विभिन्न प्रकारका औषधि, एन–९५ तथा सर्जिकल मास्क, मोबाइल शौचालय र सोलार लाइटसमेत प्रभावित क्षेत्रमा पठाइएको छ।

३१ भाद्र २०८३, बुधबार ०९:४९