अवैध भेप कारोबारमा चार जना पक्राउ, दुई गोदामबाट २ हजार ७७० थान बरामद

काठमाडौं । काठमाडौं उपत्यकामा गैरकानुनी रूपमा भण्डारण तथा बिक्री भइरहेको विद्युतीय चुरोट (भेप) ठूलो परिमाणमा बरामद भएको छ। प्रहरीले अवैध भेप कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्द्रागिरी नगरपालिका–१६ सतुङ्गलका २७ वर्षीय शुभम गुप्ता, रामेछाप घर भई काठमाडौं महानगरपालिका–३ बस्ने १९ वर्षीय राजन मोक्तान र काभ्रेको पाँचखाल–९ घर भई ललितपुरको च्यासल बस्ने १९ वर्षीय सक्षम श्रेष्ठ रहेका छन्।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवैध रूपमा भेप राखेर बिक्री वितरण भइरहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट प्रहरी टोली परिचालन गरिएको थियो।

टोलीले काठमाडौं महानगरपालिका–२२ मा रहेको आरएचएस इन्टरनेशनल प्रालि र महानगरपालिका–६ चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाममा छापा मारेको थियो। सो क्रममा ती दुई गोदामबाट २ हजार ७७० थान विद्युतीय चुरोट (भेप) बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

३० भाद्र २०८३, मंगलवार १३:४९