चक्रपथको ५२५ मिटर सडक साढे तीन वर्षदेखि अधुरै, फेरि म्याद थपिँदै

काठमाडौं — चक्रपथअन्तर्गत बल्खु–कलंकी खण्डको सीता पेट्रोलपम्प आसपास निर्माण भइरहेको ५२५ मिटरको सर्भिस लेन साढे तीन वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। निर्माण सम्पन्न गर्ने समयसीमा फेरि थप्ने तयारी भइरहेको छ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका साइट इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार हाल उक्त सडकको भौतिक प्रगति ४५ प्रतिशतमा सीमित छ। गुराँस–साइटेक जेभीले निर्माणको जिम्मा पाएको यो आयोजनाको सम्झौता १५ फागुन २०८१ मा भएको थियो।
यसअघि ठेकेदार कम्पनीलाई १५ असार २०८३ सम्मको म्याद दिइएको थियो। काम पूरा नभएपछि थप एक महिनाका लागि समय बढाउने प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार प्लम वाल, सेयर वाल, फुटपाथ, मेनहोल र ह्युमपाइप निर्माणको काम सम्पन्न भइसकेको छ। अब मुख्यतः सडक ढलान र कालोपत्र गर्ने काम बाँकी रहेको छ।
निर्माणमा ढिलाइ हुनुमा विद्युत्का पोल हटाउन लागिएको समय, वर्षाका कारण आएको अवरोध तथा मध्यपूर्वमा जारी युद्धका कारण निर्माण सामग्रीको लागत बढ्नुजस्ता कारण रहेको आयोजनाको भनाइ छ।
सर्भिस लेन निर्माणका लागि सुरुमा ५ करोड ६ लाख रुपैयाँमा सम्झौता भएको थियो। पछि भेरिएसनमार्फत लागत बढेर ५ करोड ३० लाख रुपैयाँ पुगेको छ। हालसम्म सम्झौता रकमको ४२.४ प्रतिशत भुक्तानी भइसकेको जनाइएको छ।
यसैबीच, चीनको अनुदानमा निर्माण भएको कोटेश्वर–कलंकी १०.४ किलोमिटर चक्रपथ खण्ड सन् २०१८ मा नेपाललाई हस्तान्तरण गरिएको थियो। त्यसपछि चक्रपथका विभिन्न सहायक तथा सेवा सडकको निर्माण र सुधारका काम अघि बढ्दै आएका छन्।

१८ आश्विन २०८३, आईतवार ११:५६