जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नं. ६ पेट्कुमा गुम्बा व्यवस्थापन तथा गुरु रेन्पोर्छे (गुरु पद्मसम्भव) को मूर्ति अनावरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गाउँपालिका, वडा कार्यालय तथा स्थानीयवासीको आर्थिक तथा श्रम सहयोगमा निर्माण तथा व्यवस्थापन गरिएको उक्त धार्मिक कार्यक्रममा बौद्ध धर्मावलम्बी समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य माइली तामाङ रहनुभएको थियो भने विशेष अतिथिका रूपमा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ सहभागी हुनुभएको थियो। कार्यक्रममा उहाँहरूले धार्मिक सम्पदा संरक्षण, स्थानीय संस्कृति जगेर्ना तथा सामुदायिक एकताको महत्वबारे धारणा राख्नुभएको थियो।

लिसंखुपाखर–६ पेट्कुमा आयोजित कार्यक्रममा गुरु रेन्पोर्छे तथा मणिखोर्ला पूजा सम्पन्न गरिएको थियो। धार्मिक अनुष्ठान तथा वाङ प्रदान गर्ने कार्य तुल्कु सोनाम गरवाङ रेन्पोर्छे द्वारा सम्पन्न गरिएको आयोजकले जनाएको छ। पूजा, प्रार्थना तथा आशीर्वचनसहित सम्पन्न कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु लामा, वडा नं. ६ का वडा अध्यक्ष दान बहादुर तामाङ लगायत गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, धार्मिक अगुवा तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

वडा अध्यक्ष दान बहादुर तामाङले गाउँपालिका, वडा कार्यालय र स्थानीय समुदायको सहकार्यबाट धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सम्भव भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो। सहभागीहरूले गुम्बा तथा धार्मिक संरचनाले स्थानीय समुदायमा शान्ति, सद्भाव र सांस्कृतिक पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
स्थानीय समुदायको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले बौद्ध धर्म तथा हिमाली सभ्यताको संरक्षण र प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

१२ जेष्ठ २०८३, मंगलवार २०:५१