खेताला अभावमा हर्बिसाइडको बढ्दो प्रयोग गाउँमा देखिँदै गम्भीर वातावरणीय र स्वास्थ्य जोखिम


सुनिता रखाल, चौतारा ।
सिन्धुपाल्चोकसहित ग्रामीण क्षेत्रमा बाँदरको आतंक र खेताला अभावका कारण खेतीपातीमा चुनौती बढिरहेका बेला हानिकारक हर्बिसाइड ९झारनाशक विषादी० को जथाभावी प्रयोग अर्को गम्भीर समस्याका रूपमा देखिन थालेको छ। कृषकहरूले श्रमिक अभाव र काम छिटो सक्ने उद्देश्यले झारपात नियन्त्रणका लागि हर्बिसाइड प्रयोग गर्ने क्रम बढ्दै जाँदा यसले माटो, वातावरण, पशुपन्छी र मानव स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने भन्दै कृषि विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

पछिल्ला वर्षहरूमा गाउँघरमा खेताला पाउन कठिन हुँदै गएको छ। यही कारण कतिपय कृषकले झार उखेल्ने श्रम बचाउन बारीभरि हर्बिसाइड छर्कने गरेका छन्। केही स्थानमा भने प्रत्यक्ष बालीमा प्रयोग नगरे पनि घरवर, आँगन, गोरेटो बाटो तथा सार्वजनिक स्थान सफा गर्ने नाममा समेत झारनाशक विषादीको अत्यधिक प्रयोग भइरहेको देखिएको छ।

स्थानीय कृषक तथा सरोकारवालाका अनुसार हर्बिसाइड औषधि नभई विषादी भएकाले यसको असावधानीपूर्ण प्रयोगले माटोमा रहेका उपयोगी सूक्ष्मजीव नष्ट गर्न सक्छ। यसका साथै वर्षासँगै बगेर खोलानाला र पानीका स्रोतमा मिसिँदा जलचर, पशुपन्छी तथा अन्य जीवजन्तुमा समेत नकारात्मक असर पुग्ने जोखिम रहने बताइन्छ।

यद्यपि पछिल्ला वर्षहरूमा यस विषयमा जनचेतना केही बढेको देखिएको छ। धेरै कृषकले हर्बिसाइडको जथाभावी प्रयोग हानिकारक हुने बुझ्न थालेका छन्। तर खेताला अभाव, घरमा काम गर्ने जनशक्ति नहुनु तथा सजिलो उपाय रोज्ने प्रवृत्तिका कारण यसको प्रयोग पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन।

विज्ञानसम्बन्धी विभिन्न अध्ययनले पनि हर्बिसाइडको दीर्घकालीन प्रभावबारे सचेत गराएका छन्। अमेरिकी वैज्ञानिक डा। जोन फेगन र उहाँको टोलीले गरेको एक अनुसन्धानमा हर्बिसाइड प्रयोग गरिएको खेतमा उत्पादन भएको मकै खाएका गाईको दूधबाट बनेको आइसक्रिममा समेत हानिकारक रसायनका संकेत फेला परेको उल्लेख गरिएको छ। यद्यपि यस्ता अध्ययनका निष्कर्षलाई सम्बन्धित निकाय र वैज्ञानिक समुदायले थप अनुसन्धान तथा सन्दर्भअनुसार मूल्याङ्कन गर्ने गरेका छन्।

कृषि विज्ञहरूले झार नियन्त्रणका लागि हर्बिसाइडलाई अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गर्न सुझाव दिएका छन्। आवश्यक परे सिफारिस गरिएको विषादी, तोकिएको मात्रा र सुरक्षाका मापदण्ड पालना गरेर मात्र प्रयोग गर्नुपर्ने उनीहरूको भनाइ छ। साथै यान्त्रिक, जैविक तथा अन्य वातावरणमैत्री झार व्यवस्थापनका उपाय अपनाउन पनि आग्रह गरिएको छ।

सजिलोको खोजीमा गरिने असावधानीपूर्ण अभ्यासले भविष्यमा ठूलो वातावरणीय तथा स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले हर्बिसाइडको प्रयोगमा सबै पक्ष सचेत हुनुपर्ने आवश्यकता देखिएको छ।

२६ असार २०८३, शुक्रबार ०५:२९