काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगन थापा, उनका विद्यालयका पूर्वशिक्षक श्यामकृष्ण खड्गी र पूर्वसहमहामन्त्री किशोरसिंह राठोरले उम्मेदवारी दर्ता गराएका छन्। तीनै जनाले पार्टीको नेतृत्व, एकता र आगामी राजनीतिक दिशाबारे आ–आफ्ना धारणा अघि सारेका छन्।
विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चयन भएका थापाका लागि यसपटक आफ्नै पुराना शिक्षक खड्गी प्रतिस्पर्धी बनेका छन्। करिब साढे तीन दशकअघि काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलमा थापा अध्ययनरत हुँदा खड्गी त्यहाँ माध्यमिक तहका गणित शिक्षक थिए।
खड्गीले पार्टी विधानले दिएको अधिकार प्रयोग गर्दै सभापतिमा उम्मेदवारी दिएको बताएका छन्। कांग्रेसभित्र बढेको ध्रुवीकरण अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउन आफूले नेतृत्वमा दाबी गरेको उनको भनाइ छ। उनले महाधिवेशन प्रतिनिधिबाट सकारात्मक प्रतिक्रिया पाएको पनि बताए।
खड्गीको राजनीतिक यात्रा २०४३ सालमा अमृत साइन्स क्याम्पसबाट सुरु भएको थियो। उनी कांग्रेसको १२औँ महाधिवेशनमा काठमाडौं जिल्ला कार्यसमितिको सहसचिव बनेका थिए भने १३औँ र १४औँ महाधिवेशनमा काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका थिए।
गुरु–चेलाबीच सभापति पदमा प्रतिस्पर्धा हुनुलाई उनले लोकतान्त्रिक अभ्यासका रूपमा लिएका छन्। निर्वाचनमा हारजित स्वाभाविक हुने भन्दै महाधिवेशन प्रतिनिधिको निर्णय स्वीकार गर्ने उनले बताएका छन्।
प्रतिस्पर्धालाई सहज रूपमा लिन थापाको आग्रह
सभापतिमा उम्मेदवारी दर्ता गरेपछि गगन थापाले पार्टीभित्रको प्रतिस्पर्धालाई सामान्य लोकतान्त्रिक प्रक्रियाका रूपमा लिनुपर्ने बताएका छन्। आफ्नो राजनीतिक यात्रामा फरक–फरक समयमा जित र हार दुवैको अनुभव रहेको उल्लेख गर्दै उनले परिणामकै आधारमा निराश वा अत्यधिक उत्साहित नहुन आग्रह गरे।
थापाले विशेष महाधिवेशनमा सहभागी भएका र नभएका नेताबीचको विभाजन अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। पार्टीमा लामो समय योगदान गरेका नेताहरूको क्षमता र अनुभव उपयोग गर्न पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाउनुपर्ने उनको धारणा छ।
धेरै अनुभवी नेताहरू प्रतिस्पर्धाका कारण केन्द्रीय कार्यसमितिबाट बाहिरिन सक्ने अवस्था आउन नदिन उम्मेदवारीबारे पुनर्विचार गर्नसमेत उनले आग्रह गरेका छन्। जिल्ला र स्थानीय तहलाई पनि अधिकारसम्पन्न बनाइएको उल्लेख गर्दै नेताहरूले विभिन्न तहबाट पार्टीमा योगदान दिन सक्ने उनको भनाइ छ।
राठोरको जोड पनि पार्टी एकतामै
पूर्वसहमहामन्त्री किशोरसिंह राठोरले आफू सभापति निर्वाचित भए कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका छन्। वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले सामना गरिरहेका चुनौती र आन्तरिक विभाजनलाई उनले आफ्नो उम्मेदवारीको प्रमुख सन्दर्भ बनाएका छन्।
राठोरले भदौ २३ र २४ का घटना, विशेष महाधिवेशन तथा पछिल्लो निर्वाचनमा कांग्रेसले व्यहोरेको पराजयले आफूलाई समेत कठिन अवस्थामा पुर्याएको बताएका छन्। लामो समय जिल्लामा बसेर नेता तथा कार्यकर्तासँग संवाद गरेको उल्लेख गर्दै उनले यसपटक जित्न नसके पनि १६औँ महाधिवेशनलाई लक्ष्य बनाएर अघि बढ्ने बताएका छन्।
उनका अनुसार कांग्रेसभित्र देखिएको विभाजन अन्त्य गर्दै पार्टीलाई संगठित बनाउनु अहिलेको आवश्यकता हो। आफूले विगतमा साथ दिएका नेताहरूबाट अपेक्षित सहयोग नपाएको गुनासो पनि उनले गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवारहरूले पार्टीभित्रको एकता, नेतृत्व व्यवस्थापन र संगठन सुदृढीकरणलाई मुख्य विषय बनाएका छन्। अब महाधिवेशन प्रतिनिधिको निर्णयले पार्टीको आगामी नेतृत्व तय गर्नेछ।
२१ आश्विन २०८३, बुधबार १२:११