काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। सुरुमा बिहान १० बजेका लागि तोकिएको मतदान तयारीमा ढिलाइ भएपछि पटक–पटक समय परिवर्तन हुँदै अन्ततः दिउँसो साढे २ बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको छ।
उम्मेदवारको अन्तिम नामावली तयार गर्न र त्यसअनुसार मतपत्र छपाइमा समय लागेपछि मतदानको समय पछि सारिएको हो। केन्द्रीय निर्वाचन समितिले बुधबार राति मात्रै उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरेको थियो।
मतदानअघि उम्मेदवारसँग छलफल
मतदान सुरु हुनुअघि निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूसँग निर्वाचन प्रक्रियाबारे छलफल गरेको छ।
छलफलमा मतदान गर्ने तरिका, मतगणनाको प्रक्रिया तथा सदर र बदर मतसम्बन्धी मापदण्डबारे जानकारी गराइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताएका छन्।
ज्येष्ठ मतदाताबाट मतदान सुरु
निर्वाचन समितिका अनुसार मतदानको सुरुवात ज्येष्ठ मतदाताबाट गरिनेछ। यसअघि बिहान १० बजेबाट मतदान गर्ने कार्यतालिका बनाइएको थियो। तर उम्मेदवारको अन्तिम सूची तयार गर्न तथा मतपत्र छाप्न समय लागेपछि मतदानको समय पछाडि सारिएको हो।
२९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि दोब्बरभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन समितिले जनाएको छ।
यसैबीच, कांग्रेस प्रवक्ता देवराज चालिसेले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। सभापति गगन थापाको आग्रहलाई सम्मान गर्दै उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन्।
२२ आश्विन २०८३, बिहीबार १३:४६