कांग्रेसको १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता गर्दा कागजात पूरा गर्नुपर्ने

काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै निर्वाचन समितिले आवश्यक कागजात र प्रक्रिया सार्वजनिक गरेको छ।

निर्वाचन समितिका अनुसार उम्मेदवारले आफूले प्रतिस्पर्धा गर्न लागेको पदअनुसारको फारम पूर्ण रूपमा भरेर बुझाउनुपर्नेछ। त्यस्तै, सम्बन्धित पदका लागि तोकिएका महाधिवेशन प्रतिनिधिमध्येबाट एक जना प्रस्तावक र एक जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ।

तर उम्मेदवार आफैँले आफू उम्मेदवार बनेको पदमा आफ्नो प्रस्तावक वा समर्थक बन्न भने पाउने छैनन्।

शुल्क बुझाएको प्रमाण पनि आवश्यक

उम्मेदवारी दर्ता गर्दा सम्बन्धित पदका लागि तोकिएको शुल्क बुझाएको बैंक भौचर वा रसिद अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। भौचरमा उम्मेदवारको नाम स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्ने निर्वाचन समितिले जनाएको छ।

उम्मेदवारले आफू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको प्रमाणपत्र र नेपाल सरकारले जारी गरेको आधिकारिक परिचयपत्रको प्रतिलिपिसमेत बुझाउनुपर्नेछ।

समावेशी समूहका लागि छुट्टै प्रमाण

समावेशी क्लस्टरतर्फबाट उम्मेदवारी दिने व्यक्तिले आफू सम्बन्धित समूहमा पर्ने प्रमाणित गर्ने कागजातको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ।

त्यसैगरी, उम्मेदवारको क्रियाशील सदस्यता निरन्तर रहेको प्रमाणित गर्ने सम्बन्धित सिफारिसपत्र समेत उम्मेदवारी फारमसँगै बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

निर्वाचन समितिले उम्मेदवारी दर्ताका क्रममा फारम, प्रस्तावक तथा समर्थक, शुल्क बुझाएको भौचर, महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र, परिचयपत्र, क्लस्टरसम्बन्धी प्रमाणपत्र र क्रियाशील सदस्यताको निरन्तरता सिफारिसलगायत कागजात जाँच गर्नेछ।

यसरी आवश्यक सबै कागजात पूरा भएपछि मात्र उम्मेदवारी दर्ता प्रक्रिया अघि बढ्ने निर्वाचन समितिले जनाएको छ।

२० आश्विन २०८३, मंगलवार १३:०७