कक्षा १० का विद्यार्थीका लागि शैक्षिक उत्प्रेरणा तथा करियर परामर्श कार्यक्रम सम्पन्न

जनतापत्र,सिन्धुपाल्चोक ।
भोटेकोशी गाउँपालिकाको आयोजना तथा घुन्सा फाउण्डेसनको प्राविधिक सहयोगमा गाउँपालिकाभित्रका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि सिकाइ उपलब्धि अभिवृद्धि तथा करियर परामर्शसम्बन्धी शैक्षिक उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।

विद्यार्थीहरूलाई शैक्षिक उपलब्धि वृद्धि, भविष्यको लक्ष्य निर्धारण तथा सही करियर छनोटका लागि प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा सहभागी विद्यार्थीहरूले जीवनमा सफलता हासिल गर्न आवश्यक अनुशासन, मेहनत, आत्मविश्वास र सकारात्मक सोचका विषयमा महत्वपूर्ण जानकारी प्राप्त गरेका थिए।

कार्यक्रममा लोकप्रिय समाजसेवी तथा शिक्षाप्रेमी याङजोम शेर्पा र एम्बिसन गुरु टिमले सहजीकरण गर्दै विद्यार्थीहरूलाई आफ्नो जीवनको लक्ष्य प्राप्तिका लागि दत्तचित्त भएर अध्ययन गर्न, आमा–बुबा र गुरुजनप्रति सम्मान राख्दै अगाडि बढ्न तथा चुनौतिहरूलाई अवसरका रूपमा ग्रहण गर्न प्रेरित गरेका थिए। उनीहरूले विद्यार्थीहरूलाई भविष्यप्रति आशावादी, जिम्मेवार र लक्ष्यप्रति प्रतिबद्ध बन्न हौसला तथा उत्साह प्रदान गरेका थिए।

कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, विष्णु प्रधान लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्ने सम्पूर्ण व्यक्तित्वहरूको योगदानको समेत प्रशंसा गरिएको छ।

भोटेकोशी गाउँपालिकाले यस्ता कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यक्तित्व विकास तथा भविष्यप्रति सकारात्मक सोच निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रमबाट सहभागी विद्यार्थीहरू उत्साहित हुनुका साथै आफ्नो अध्ययन र करियरप्रति थप स्पष्ट र जिम्मेवार बन्न प्रेरित भएको बताइएको छ।

४ असार २०८३, बिहीबार ११:१६