‘एक वडा एक उत्पादन’ अन्तर्गत ४५ लाखको कफी प्रवद्र्धन परियोजनाको संयुक्त अनुगमन

जनतापत्र,चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका–१० मा सञ्चालन गरिएको ‘एक वडा एक उत्पादन’ कफी प्रवद्र्धन कार्यक्रम अन्तर्गत करिब रु. ४५ लाख लागतको दोस्रो चरणको परियोजना सम्पन्न भएको छ। परियोजना सम्पन्न भएपछि शनिबार संयुक्त अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न गरिएको हो।

अनुगमन कार्यक्रममा कृषि निर्देशनालयका प्रमुख, चौतारा साँगाचोकगढी नगरपालिकाका उप मेयर सीता थापा, वडा अध्यक्ष, कफी सहकारी संघका पदाधिकारी, कफी कृषक, पत्रकार तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अनुगमन टोलीले परियोजनाअन्तर्गत कफी खेती विस्तार, बिरुवा व्यवस्थापन, उत्पादनको अवस्था, कृषकले प्राप्त गरेका सुविधा तथा कार्यक्रमको प्रभावकारिताबारे स्थलगत निरीक्षण गरेको थियो। सहभागीहरूले कफी खेतीले वडा नं. १० मा व्यावसायिक कृषि प्रवद्र्धन, आयआर्जन वृद्धि र स्थानीय उत्पादनको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पु¥याएको बताएका थिए।

कार्यक्रमका क्रममा कफी उत्पादनलाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउन प्राविधिक सहयोग, प्रशोधन, ब्रान्डिङ तथा बजारीकरणमा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याइएको थियो। साथै, कफी खेती विस्तार गर्दै थप कृषकलाई कार्यक्रमसँग आबद्ध गराउन सबै निकायबीच सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

‘एक वडा एक उत्पादन’ अवधारणाअन्तर्गत दोस्रो पटक सञ्चालन गरिएको यो परियोजनाले वडा नं. १० लाई कफी उत्पादनको सम्भावनायुक्त क्षेत्रका रूपमा स्थापित गर्न थप टेवा पु¥याएको विश्वास व्यक्त गरिएको छ।

२४ असार २०८३, बुधबार ०५:०८