जनतापत्र,बाह्रविसे ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा उपभोक्ता हकहित संरक्षणसम्बन्धी उपभोक्ता सचेतना कार्यक्रम बाह्रविसे नगरपालिका–४ स्थित श्री शारदा माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

उपभोक्ताको अधिकार, कर्तव्य तथा बजारमा हुने ठगी र अनियमितताप्रति सचेत बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममा उपभोक्ता संरक्षणसम्बन्धी प्रचलित कानुनी व्यवस्था, उपभोक्ताका मौलिक अधिकार, गुणस्तरीय वस्तु तथा सेवा छनोट गर्ने तरिका, वस्तुको उत्पादन तथा म्याद समाप्त हुने मिति हेर्ने बानी, मूल्यसूचीको महत्व, बिल लिने संस्कार तथा बजारमा देखिने विभिन्न प्रकारका उपभोक्ता ठगीका विषयमा जानकारी गराइएको थियो।
सहजीकरण गर्ने वक्ताहरूले सचेत उपभोक्ताले मात्र स्वस्थ र पारदर्शी बजार व्यवस्था निर्माण गर्न सक्ने उल्लेख गर्दै दैनिक उपभोग्य वस्तु खरिद गर्दा लेबल, गुणस्तर चिन्ह, मूल्य र म्याद समाप्त हुने मिति अनिवार्य रूपमा जाँच गर्नुपर्नेमा जोड दिएका थिए। उपभोक्ताले खरिद गरेको वस्तुको बिल सुरक्षित राख्नुपर्ने र कुनै समस्या वा ठगी भए सम्बन्धित निकायमा उजुरी गर्न सकिने विषयमा समेत जानकारी दिइएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले बजारमा हुने ठगी, गुणस्तरहीन वस्तुको बिक्री, अनधिकृत मूल्यवृद्धि तथा उपभोक्ताको भूमिकाबारे जिज्ञासा राखेका थिए। सहभागीका प्रश्नको उत्तर दिँदै सहजकर्ताहरूले उपभोक्ता स्वयं सचेत भएमा बजारमा हुने अनियमितता नियन्त्रण गर्न ठूलो सहयोग पुग्ने बताएका थिए।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकले विद्यालयस्तरबाटै उपभोक्ता शिक्षा प्रवद्र्धन गरी जिम्मेवार र सचेत नागरिक निर्माण गर्ने उद्देश्यले जिल्लाका विभिन्न विद्यालयमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। विद्यार्थीमार्फत परिवार र समुदायसम्म उपभोक्ता अधिकारसम्बन्धी सन्देश पुग्ने विश्वाससमेत कार्यालयले व्यक्त गरेको छ।

कार्यक्रमका सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले व्यवहारिक ज्ञान प्राप्त भएको र दैनिक जीवनमा सुरक्षित तथा जिम्मेवार उपभोक्ताको रूपमा भूमिका निर्वाह गर्न प्रेरणा मिलेको बताएका थिए। कार्यक्रमले उपभोक्ता अधिकारको संरक्षणसँगै गुणस्तरीय वस्तु तथा सेवाको प्रयोगप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
१९ असार २०८३, शुक्रबार ११:०२