ईन्द्रावती–५ मा अदुवाको बीउ वितरणः ३० हजार किलो पु¥याउने लक्ष्य


जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नं. ५ का विभिन्न टोल बस्तीहरूमा व्यावसायिक अदुवा खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले अदुवाको बीउ वितरण कार्य तीव्रताका साथ अघि बढाइएको छ।

स्थानीय किसानहरूलाई आत्मनिर्भर बनाउने र गाउँमा कृषिको व्यवसायीकरण गर्ने योजना अन्तर्गत हिजो र आज गरी दुई दिनमा १०,००० किलो अदुवाको बीउ वितरण गरिएको छ। वडाका विभिन्न टोलका कृषक समूह र व्यक्तिगत किसानहरूलाई उनीहरूको आवश्यकता र मागका आधारमा बीउ उपलब्ध गराइएको हो।

वडा कार्यालयका अनुसार यो वितरण अभियान अझै जारी रहनेछ। आगामी चरणमा थप २०,००० केजी अदुवाको बीउ वितरण गर्ने तयारी पुरा भएको छ। कुल ३०,००० किलो बीउ वितरण गरेपछि वडामा अदुवा उत्पादनमा उल्लेख्य वृद्धि हुने र यसले स्थानीयको आर्थिक स्तर उकास्न ठूलो मद्दत पुग्ने विश्वास लिइएको वडा अध्यक्ष शशिनाथ आर्चायले जानकारी दिए ।

बीउ पाएपछि स्थानीय किसानहरू हर्षित भएका छन्। गाउँमै उन्नत जातको बीउ उपलब्ध भएपछि अदुवा खेती विस्तार गर्न थप ऊर्जा मिलेको उनीहरूको भनाइ छ। वडाले बीउ वितरणसँगै खेती गर्ने आधुनिक तरिका र रोग नियन्त्रणका बारेमा पनि किसानहरूलाई परामर्श दिने लक्ष्य राखेको छ।

१८ बैशाख २०८३, शुक्रबार ११:१७