इन्द्रावती बहुमुखी क्याम्पसको १९औँ स्थापना दिवस सम्पन्न, नयाँ सञ्चालक समिति चयन प्रक्रिया अघि बढ्यो

सिन्धुपाल्चोक — मेलम्ची–११ स्थित इन्द्रावती बहुमुखी क्याम्पसले आफ्नो १९औँ स्थापना दिवससँगै वार्षिक सभा सम्पन्न गरेको छ। कार्यक्रममा क्याम्पसको विगतको प्रगति, वर्तमान अवस्था, शैक्षिक योजना तथा सञ्चालक समिति गठनबारे छलफल गरिएको थियो।

सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य युवराज दुलाल ‘शरद’को प्रमुख आतिथ्य र क्याम्पस सञ्चालक समिति अध्यक्ष सीपी दुलालको अध्यक्षतामा कार्यक्रम भएको हो।

कार्यक्रममा बागमती प्रदेशकी पूर्व राज्यमन्त्री इन्द्रमाया गुरुङ, मेलम्ची नगरपालिकाका पूर्व प्रमुख डम्बर अर्याललगायतको सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद युवराज दुलालले स्थानीय क्षेत्रमा नै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउन क्याम्पसले महत्वपूर्ण योगदान गरिरहेको बताए। उनले क्याम्पसको शैक्षिक तथा भौतिक पूर्वाधार सुधारका लागि स्थानीय सरकार, समुदाय र अन्य सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

पूर्व नगरप्रमुख डम्बर अर्यालले इन्द्रावती बहुमुखी क्याम्पसलाई यस क्षेत्रको शैक्षिक विकासको आधारका रूपमा अघि बढाउनुपर्ने बताए। स्थानीय विद्यार्थीलाई आफ्नै क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्ने वातावरण बनाउन क्याम्पसको गुणस्तर र पूर्वाधारमा निरन्तर लगानी आवश्यक रहेको उनको भनाइ थियो।

पब्लिक क्याम्पस बागमती प्रदेशका अध्यक्ष शैलेन्द्र कुइकेलले भने विषय र भौगोलिक आवश्यकता हेरेर क्याम्पस सञ्चालन तथा शैक्षिक कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिए।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष एकलाल श्रेष्ठले स्वागत मन्तव्य दिँदै क्याम्पसको स्थापना र विकासमा योगदान गर्ने सबैप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा क्याम्पसलाई थप व्यवस्थित र गुणस्तरीय बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

स्थापना दिवसका अवसरमा क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठले शैक्षिक उन्नति, संस्थागत सुदृढीकरण र विद्यार्थीमैत्री वातावरण निर्माणलाई आगामी योजनाको प्राथमिकतामा राखिएको जानकारी दिए।

कार्यक्रममा १०१ जनाभन्दा बढी नयाँ आजीवन सदस्यलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

अध्यक्षमा सहमति जुटेन

नयाँ सञ्चालक समिति चयनका क्रममा अध्यक्ष पदमा पाँच जनाले आकांक्षा राखेपछि सहमति जुट्न सकेन। अध्यक्षका लागि सीपी दुलाल, राजन दुलाल, जयराम दुलाल, लक्ष्मण दुलाल र रामप्रसाद सापकोटाबीच सहमति नबनेपछि बन्दसत्र हालका लागि स्थगित गरिएको छ।

यद्यपि अध्यक्षबाहेक अन्य पदाधिकारीको चयन भने टुंगिएको जनाइएको छ। अध्यक्ष पदमा सहमति जुटेपछि बाँकी प्रक्रिया अघि बढाइने बताइएको छ।

कार्यक्रमको सञ्चालन यादव दुलालले गरेका थिए।

१९ आश्विन २०८३, सोमबार ०९:५१