इको पहिरोका कारण तातोपानी नाका अवरुद्ध, स्याउसहित सामान अलपत्र

जनतापत्र, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकस्थित इको क्षेत्रमा पुनः पहिरो सक्रिय भएपछि नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाका तातोपानीको आवागमन पूर्ण रूपमा बन्द भएको छ। लगातारको वर्षा र जमिन भासिन थालेपछि सडक भोटेकोसी नदीतर्फ खस्दै गएपछि मालबाहक सवारी साधन चल्न नसक्ने अवस्था बनेको हो।

पछिल्ला पाँच दिनदेखि खासा–तातोपानी खण्डमा कुनै पनि कन्टेनर तथा अन्य सवारीसाधन आवतजावत गर्न सकेका छैनन्। सडक माथिबाट आएको ठूलो मात्राको लेदो र माटोले पुरिँदा आवागमन थप जटिल बनेको स्थानीय प्रशासनले जनाएको छ।

सडक डिभिजन कार्यालय चरिकोटले पहिरो नियन्त्रण र सडक मर्मतका लागि प्रारम्भिक काम अघि बढाएको थियो। तर, परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशनपछि उक्त कार्य स्थगित गरिएको छ। मन्त्रालयको निर्देशनअनुसार इको पहिरो क्षेत्रको स्थायी समाधान तथा सडक निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनीले लिने भनिएको छ। तर हालसम्म उक्त कम्पनी निर्माणस्थलमा नपुगेकाले काम सुरु हुन सकेको छैन।

नाका बन्द भएपछि खासा क्षेत्रमा थुप्रै नेपाली व्यापारीका सामान रोकिएका छन्। व्यापारी शारदाप्रसाद पराजुलीका अनुसार चीनबाट ल्याइएका करिब १२ वटा स्याउ बोकेका कन्टेनर लामो समयदेखि रोकिँदा कुहिने जोखिम बढेको छ। साथै, विभिन्न विकास आयोजनाका लागि ल्याइएका उपकरण तथा निर्माण सामग्री पनि बाटोमै अड्किएका छन्।

“समयमै सडक खुल्न नसके ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था छ,” व्यापारीहरूले बताएका छन्। निरन्तर अवरोधका कारण व्यवसायीहरू चिन्तित बनेका छन्।

सडक डिभिजन कार्यालयका प्रमुखका अनुसार माथिल्लो निकायको निर्णय अनुसार तत्काल कुनै भौतिक काम अघि बढाउन नसकिएको हो। यसैबीच, क्षेत्र नं. १ का जनप्रतिनिधिले सडक निर्माण पूर्ण रूपमा चिनियाँ पक्षले गर्ने जानकारी दिँदै समस्याको दीर्घकालीन समाधान आवश्यक रहेको बताएका छन्।

नाका बन्द हुँदा व्यापार मात्र होइन, स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा समेत असर पर्ने संकेत देखिएको छ।

१९ बैशाख २०८३, शनिबार ११:२६