टीका सुवेदी ।
सिन्धुपाल्चोकको सुकुटे क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ। सरकारले लागू गरेको शनिबार र आइतबारको साप्ताहिक बिदाका कारण यहाँका आवास गृह तथा होटलहरू विशेषगरी बिदाको समयमा भरिभराउ हुने गरेका छन्। सुनकोशी नदीको किनारमा अवस्थित सुकुटे छोटो दूरीमै पुग्न सकिने, प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा साहसिक गतिविधिका लागि उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
काठमाडौंबाट करिब ६७ देखि ७० किलोमिटर दूरीमा पर्ने सुकुटे पुग्न सहज सडक सञ्जाल उपलब्ध छ। निजी सवारी साधन वा भाडाका गाडीमार्फत एकदेखि डेढ घण्टामै यहाँ पुग्न सकिन्छ। दोलाल हुँदै जाने मार्गले यात्रालाई थप रमणीय बनाउने भएकाले धेरै पर्यटकले यही बाटो रोज्ने गरेका छन्। छोटो समयमै शहरको भीडभाड र तनावबाट टाढा प्राकृतिक वातावरणमा पुग्न सकिने भएकाले सुकुटे विशेषगरी काठमाडौं उपत्यकाका बासिन्दाका लागि उपयुक्त गन्तव्य बनेको छ ।

हाल सुकुटे क्षेत्रमा करिब १८ वटा सुविधा सम्पन्न आवास गृह तथा होटल सञ्चालनमा रहेका छन् । यी स्थानमा पौडी पोखरी, पाल–आवास, आगो बालेर बस्ने व्यवस्था, भोजनालय तथा आरामदायी बसोबासका सुविधा उपलब्ध छन्। पर्यटकहरूले आफ्नो बजेटअनुसार सेवा छनोट गर्न सक्ने भएकाले सबै वर्गका मानिसका लागि सुकुटे आकर्षक गन्तव्य बनेको देखिन्छ ।
सुकुटे क्षेत्र साहसिक तथा मनोरञ्जनात्मक गतिविधिका लागि विशेष रूपमा परिचित छ । यहाँ आउने पर्यटकहरू सुनकोशी नदीमा डुंगा यात्रा (¥याफ्टिङ), पौडी खेल्ने तथा सानो डुंगा चलाउने (कायकिङ) जस्ता पानीजन्य गतिविधिमा सहभागी हुने गरेका छन्। यसका साथै सुनकोशीमा डुंगा यात्राले साहसिक अनुभव लिन चाहने पर्यटकलाई थप आकर्षित गरेको छ ।
यसैगरी विशाल पिङ, डोरीमार्फत चिप्लिने खेल (जिपलाइन), ढुंगामा चढ्ने खेल (रक क्लाइम्बिङ), बालुवामा खेलिने भलिबल, जङ्गल अवलोकन यात्रा तथा उकाली–ओराली पैदल यात्रा जस्ता गतिविधिले सुकुटेलाई बहुआयामिक पर्यटन गन्तव्य बनाएको छ । नदी किनारमा रात बिताउने, आगो बालेर गीत–संगीत गर्ने जस्ता गतिविधिले पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्ने गरेका छन्। परिवार, साथीभाइ तथा संस्थागत समूहहरू शुक्रबार साँझदेखि नै सुकुटे पुग्ने र आइतबार फर्किने चलन बढ्दै गएको छ ।
सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका उपाध्यक्ष तथा शेरावीचका संचालक रामहरी थापाका अनुसार सुकुटे क्षेत्रमा शुक्रबार करिब दुई हजार, शनिबार एक हजार पाँच सय, आइतबार पाँच सय र अन्य दिनमा दैनिक तीन सयभन्दा बढी पर्यटक आउने गरेका छन् । औसतमा प्रतिव्यक्ति करिब पाँच हजार रुपैयाँ खर्च हुने भएकाले साप्ताहिक रूपमा करिब दुई करोड ५० लाख रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। यसले स्थानीय अर्थतन्त्रसँगै राज्यको राजस्वमा समेत सकारात्मक योगदान पु¥याएको छ ।

सुकुटेमा विदेशी पाहुना, सरकारी तथा गैरसरकारी कर्मचारी, व्यापारी–व्यवसायी तथा मध्यमवर्गीय परिवारहरूको उल्लेखनीय उपस्थिति रहने गरेको छ। छोटो दूरी, सहज पहुँच र विविध गतिविधिका कारण सुकुटे सबै वर्गका पर्यटकका लागि उपयुक्त गन्तव्य बनेको छ ।
पर्यटन विकाससँगै स्थानीय स्तरमा रोजगारीका अवसर पनि उल्लेखनीय रूपमा बढेका छन्। सुकुटे क्षेत्रमा पाँच सयभन्दा बढी स्थानीय युवायुवतीले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा पनि धेरै मानिस लाभान्वित भएका छन्। आवास गृह तथा भोजनालयहरूले खाद्यान्न, तरकारी, फलफूल लगायतका सामग्री स्थानीय किसानबाट खरिद गर्ने गरेका छन्, जसले कृषकहरूलाई उचित मूल्य प्राप्त हुने वातावरण सिर्जना गरेको छ। यसले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष तथा नेसनल जियोग्राफिक नेपालका पूर्व प्रतिनिधि समेत रहनुभएका सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका अध्यक्ष महेन्द्र थापाले सुकुटेलाई जुगल हिमालसँग जोड्ने योजना अघि बढिरहेको जानकारी दिनुभयो। सरकारले जुगल हिमशृङ्खलालाई पर्वतारोहणका लागि खुला गरेसँगै त्यस क्षेत्रमा पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
उहाँका अनुसार जुगल हिमाल आरोहणका लागि आउने पर्यटकहरूले जाने क्रममा एक रात र फर्किने क्रममा दुई रात सुकुटेमा बस्ने सम्भावना रहेको छ। यसले सुकुटे क्षेत्रका आवास गृह तथा होटल व्यवसायमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

यद्यपि, बढ्दो पर्यटक आगमनसँगै केही चुनौतीहरू पनि देखापर्न थालेका छन्। विशेषगरी फोहोर व्यवस्थापन, पानी स्रोतको दिगो उपयोग तथा स्थानीय संस्कृति संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता रहेको सरोकारवालाहरू बताउँछन्। यदि यी विषयमा समयमै ध्यान दिइएन भने दीर्घकालीन रूपमा पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न सक्ने भएकाले जिम्मेवार पर्यटन अभ्यास आवश्यक देखिन्छ ।
समग्रमा, प्राकृतिक सौन्दर्य, साहसिक गतिविधि, सहज पहुँच र छोटो दूरीका कारण सुकुटे क्षेत्र नेपालको आन्तरिक पर्यटनको एक सफल नमूना बनेको छ। आगामी दिनमा योजनाबद्ध विकास, पूर्वाधार विस्तार र दिगो व्यवस्थापनका माध्यमबाट सुकुटेको महत्व अझ बढ्दै जाने विश्वास गरिएको छ ।
https://www.facebook.com/share/v/1HfqbeonVt/
१९ बैशाख २०८३, शनिबार १३:३७