२०८३ वैशाख १७ गते ९३० अप्रिल २०२६० बिहीवार, वैशाख शुक्लपक्ष चतुर्दशी तिथि। चित्रा नक्षत्र। चन्द्रराशि कन्या, १३ः१५ बजेपछि तुला।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनाले रोकिएको काम बन्नेछ। व्यापार बढ्नुका साथै पेसा–व्यवसायमा लाभ हुनेछ। मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यसअघि रोकिएका काम साँझतिर सम्पादन गर्न सफल भइनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समस्या दर्साउँदा साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको लाभ नहुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तापनि बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। साँझतिर सेवामूलक काम गर्न सकिनेछ। तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पेसा–व्यवसायमा नयाँ काम प्रारम्भ हुने समय छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। साँझतिर स्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। आवेशमा काम गर्दा विवादमा परिनेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। कामको सफलताले हौसला जगाउनेछ। सहयोगीले साथ दिनेछन्। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट होला। साँझतिर विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने हुन सक्छ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
कामका लागि रकम जोहो गर्ने समय छ। आफन्त र परिवारबाट टाढिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। तर, अवसरको खोजीमा दौडधुप भने गर्नुपर्ला। साँझतिर सहयोगीहरूले साथ दिनेछन्। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। स्वास्थ्य कमजोर रहनेछ। आगन्तुकले अलमल्याउने हुँदा विशेष काम रोकिन सक्छ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ। सामाजिक जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
मकर
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेतले कार्यसिद्धि हुनेछ। साँझदेखि नयाँ अवसर प्राप्त हुनेछ। पेसा–व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य कमजोर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढ्नेछ र सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफ्नो श्रम परे पनि कामको प्रतिफलमाथि अरूले राज गर्नेछन्। साँझतिर स्थितिमा सुधार आउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तको उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। तर आफ्ना सूचना बाहिरिने हुँदा गोपनीयतामा ध्यान पुर्याउनुहोला। आम्दानी प्रशस्तै भए पनि रकम सञ्चय भने नहुन सक्छ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि सजग रहनुहोला।
१७ बैशाख २०८३, बिहीबार ०५:२३