
जनतापत्र, सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिकाको आयोजनामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गर्दै ४ दिने अभिमुखीकरण तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। आन्तरिक रोजगार प्रवर्द्धन तथा स्वरोजगार सिर्जनालाई प्राथमिकता दिँदै सञ्चालन गरिएको उक्त कार्यक्रम मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलको विशिष्ट आतिथ्यता तथा मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धितालको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवायुवतीहरूलाई नेपालमै सम्भावना भएका व्यवसाय, उद्यम सञ्चालन, लगानी व्यवस्थापन, सीपको उपयोग तथा आत्मनिर्भर बन्ने विषयमा प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गरिएको आयोजकले जनाएको छ। सहभागीहरूलाई साना तथा घरेलु उद्योग सञ्चालन, कृषि तथा पशुपालन व्यवसाय, बजार व्यवस्थापन र वित्तीय पहुँचका विषयमा समेत जानकारी गराइएको थियो।

कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं. ११ की महिला वडा सदस्य तथा व्यवसायी प्रतिमा धिताल, व्यवसायी एवं नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवास बानियाँ, महिला आत्मनिर्भरता केन्द्रकी प्रतिनिधि कालिमाया वाइवालगायतको उपस्थिति रहेको थियो।
वक्ताहरूले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको अनुभव, सीप र पूँजीलाई स्थानीय स्तरमै सदुपयोग गर्न सके नगरको आर्थिक विकासमा टेवा पुग्ने बताएका थिए। उनीहरूले युवालाई विदेश पलायनभन्दा आफ्नै ठाउँमा उद्यमशील बन्न प्रेरित गर्दै स्थानीय सरकार, निजी क्षेत्र र विभिन्न संघसंस्थाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
१३ जेष्ठ २०८३, बुधबार ०५:१२